काठमाडौं। सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत बिग मार्टबाट सामान खरिद गरेका जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
कात्तिक महिनाको पहिलो लक्की ड्रमार्फत छनोट भएका विजेतालाई क्रिकेटर ललित राजवंशीले फोन गरेर पुरस्कार जितेको जानकारी दिएका थिए। ती उपभोक्ताले गत कात्तिक ५ गते बिग मार्टबाट सामान खरिद गरी बिलको विवरण प्रणालीमा प्रविष्ट गरेका थिए। उनले पुरस्कार रकमबाट घर बनाउने बताएका छन्।

विजेतालाई सक्कल बिलसहित जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। प्रक्रिया पूरा भएपछि आगामी मङ्सिर १ गते काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नेछन्।
कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्म प्रविष्ट भएका बिलबाट १५ जना दैनिक र एक जना बम्पर विजेता गरी १६ जना छनोट भएका छन्।

कार्यक्रममा सहभागी क्रिकेटर ललित राजवंशी, दिलीप नाथ र लोकेश बमले प्रत्येक कारोबारमा बिल लिने र सुरक्षित राख्ने बानीले उपभोक्ता अधिकार संरक्षणसँगै पुरस्कार जित्ने अवसर पनि प्रदान गर्ने बताएका थिए। उनीहरूले करदाता प्रोत्साहन कार्यक्रमबारे सहरी क्षेत्रसँगै ग्रामीण भेगसम्म जानकारी पुर्याउनुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।