काठमाण्डौ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्यको ३४.९ प्रतिशत भारित भौतिक प्रगति हासिल गरेको छ ।
नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासका लागि विनियोजित ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको महाशाखाले जनाएको छ ।
यो त्रैमासिक बजेटको २३.४ प्रतिशत खर्च हो । वित्तीय खर्चको तुलनामा भौतिक प्रगति केही माथि देखिएको छ । सो अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति हासिल भएको छ ।
महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण गरिएको छ भने १ हेक्टर जग्गा उकास गरिएको छ ।
महाशाखाअन्तर्गतका केही आयोजनाले भने तोकिएको त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले त्रैमासिक भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति हासिल गरेको छ ।
यस्तै टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति हासिल गरेको छ । लमही दाङमा सञ्चालित आयोजनाको भौतिक प्रगति ८६.५ प्रतिशत पुगेको छ भने कञ्चनपुरमा ८२.५ प्रतिशत र जनकपुर धनुषामा ८२.३ प्रतिशत प्रगति हासिल भएको महाशाखाले जनाएको छ ।
नदी कटान बाढी तथा जल उत्पन्न विपद्को जोखिम न्यूनीकरणका लागि सञ्चालन हुँदै आएका तटबन्ध तथा संरक्षण कार्यक्रमको प्रभावकारी कार्यान्वयनलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।