मंगलवार, कार्तिक १७,२०८३ 06:16:26
  • मंगलवार, कार्तिक १७,२०८३ 06:16:26
Global IME Bank Limited

भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !

Bizshala
भ्रष्टाचारको पैसा सेयरबजारमा लगानी, अर्काको ब्रोकर खाताबाट विभिन्न कम्पनीको सेयर किनबेच !
New Office

काठमाण्डौ । भ्रष्टाचारबाट आर्जित रकम सेयरबजारमा पुर्‍याएर ‘लेयरिङ’ गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध दायर गरेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गैरकानुनी आर्जनको रकम अर्कै व्यक्तिको ब्रोकर खातामार्फत सेयरबजारमा लगानी गरिएको दाबी गरेको छ ।

अख्तियारले आचार्यले २०५४ माघ २ गतेदेखि २०८० मंसिर २१ गतेसम्म सरकारी सेवामा रहँदाको अवधिमा ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ वैधानिक आम्दानी गरेको देखिए पनि सोही अवधिमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको जनाएको छ । आम्दानी र खर्चबीचको अन्तर ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँलाई आयोगले गैरकानुनी सम्पत्ति आर्जनको बिगो कायम गरेको छ ।

आयोगको अनुसन्धानमा उक्त रकम घरजग्गा, डिपार्टमेन्ट स्टोर, ऋणसापटी तथा अन्य क्षेत्रमा मात्र नभई सेयर खरिदमा समेत प्रयोग भएको उल्लेख छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अर्काको ब्रोकर खाताबाट सेयर किनबेच

आयोगले सार्वजनिक गरेको विस्तृत सम्पत्ति शुद्धीकरण चार्टमा आचार्यले भीष्म गड्तौलामार्फत सेयरमा लगानी गरेको छुट्टै विवरण समावेश गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत १० लाख रुपैयाँको चेक प्रयोग गरी रकम परिचालन गरिएको र त्यसमध्ये ८ लाख ३८ हजार ७८४ रुपैयाँ ६३ पैसाको स्रोत नखुलेको तथा गैरकानुनी आर्जन भएको आयोगको दाबी छ ।

उक्त रकम इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडमार्फत भीष्म गड्तौलाको ब्रोकर खाता नम्बर २०१९०४२१४८ मा पुर्‍याइएको आयोगको अनुसन्धान विवरणमा उल्लेख छ ।

त्यसपछि सो खातामार्फत दोस्रो बजारमा विभिन्न कम्पनीका सेयर खरिद गरिएको र खरिद गरिएका सेयर पुनः बिक्री गरिएको देखाइएको छ । आयोगले यस प्रक्रियालाई सम्पत्ति शुद्धीकरणको ‘लेयरिङ’का रूपमा चित्रण गरेको छ ।

आयोगका अनुसार पछि १० लाख रुपैयाँ नगद फिर्ता गरिएकोमा सुरुवाती स्रोत नखुलेको ८ लाख ३८ हजार ७८४ रुपैयाँ ६३ पैसालाई सम्पत्ति शुद्धीकरणको बिगो कायम गरिएको छ ।

अर्थात्, अख्तियारको अनुसन्धानले गैरकानुनी रूपमा आर्जित भनिएको रकम बैंकिङ प्रणाली हुँदै ब्रोकर खातामा पुर्‍याएर दोस्रो बजारमा सेयर किनबेच गरिएको र त्यसलाई पुनः नगदमा रूपान्तरण गरिएको संरचना देखाएको छ ।

Garima Development Bank
Bizshala
IME remit

९ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको आरोप

अख्तियारले यदुनाथ आचार्य र अन्य प्रतिवादीहरूको संलग्नतामा आपराधिक क्रियाकलापबाट आर्जित ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँबराबरको सम्पत्तिलाई ‘प्लेसमेन्ट’, ‘लेयरिङ’ र ‘इन्टिग्रेसन’मार्फत परिचालन गरी कुल ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसाबराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ ।

आचार्यविरुद्ध सम्पत्ति शुद्धीकरणतर्फ ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी सजाय तथा सम्पत्ति जफत/असुलको मागदाबीसमेत गरिएको छ ।

समग्र अनुसन्धान विवरणमा घरजग्गा खरिदबिक्री, डिपार्टमेन्ट स्टोरमा लगानी, विभिन्न व्यक्तिसँगको आर्थिक कारोबार तथा सेयरबजारसमेत प्रयोग गरी गैरकानुनी सम्पत्तिको स्रोत लुकाउने प्रयास गरिएको आयोगको दाबी छ ।

यो प्रकरणले भ्रष्टाचार तथा गैरकानुनी आर्जनबाट आएको रकम पूँजीबजारमा प्रवेश गराई ‘सेतो’ बनाउने प्रयास हुनसक्ने जोखिमतर्फ समेत गम्भीर प्रश्न उठाएको छ । विशेषगरी अर्काको नाममा रहेको ब्रोकर खातामार्फत कारोबार भएको दाबीले KYC, लाभग्राही पहिचान र शंकास्पद कारोबार निगरानी प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न पनि उब्जाएको छ।

यद्यपि यी सबै विषय अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख भएका दाबी हुन् । आरोपको अन्तिम निरुपण विशेष अदालतबाट हुनेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.