काठमाण्डौ । सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीचको समन्वयपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानको धान खरिद गर्न लागिएको हो ।
कम्पनीको महेन्द्रनगर शाखाले पहिलो चरणमा किसानबाट मोटा धान खरिद गर्ने भएको छ । कम्पनीले मोटा धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तोकेको छ ।
प्राथमिक खरिद समितिको निर्णयअनुसार महेन्द्रनगर शाखाले कात्तिक १९ र २० गते किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्नेछ ।
कुपन लिएका किसानले तोकिएको मितिमा कम्पनीको गुणस्तर मापदण्ड पूरा गरेको मोटा धान महेन्द्रनगरस्थित कम्पनीको गोदाममा ल्याउनुपर्नेछ । धान तौलने काम कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन गरिनेछ ।
कम्पनीले एक किसानबाट अधिकतम ३० क्विन्टलसम्म धान खरिद गर्ने जनाएको छ ।
धान बिक्री गर्न ल्याउँदा पराल, भुस, पोकोटा, माटो तथा ढुंगा नमिसिएको सफा धान हुनुपर्नेछ । धानको नमुना परीक्षण गरी गुणस्तर पुष्टि भएपछि मात्रै खरिद गरिने कम्पनीले स्पष्ट पारेको छ ।
धान बिक्री गर्न चाहने किसानले पहिला कुपन लिनुपर्नेछ । कुपनमा तोकिएको मितिमै धान बिक्रीका लागि ल्याउनुपर्ने र तोकिएको दिनबाहेक अन्य दिन कम्पनीले धान तौल गर्न बाध्य नहुने सूचनामा उल्लेख छ ।
किसानले कुपन लिन आउँदा नागरिकताको फोटोकपी, जग्गाधनी प्रमाणपूर्जाको फोटोकपी तथा आवश्यक अवस्थामा स्थानीय तह वा वडा कार्यालयको सिफारिससमेत पेश गर्नुपर्नेछ ।
धान बिक्री गरेपछि रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।
कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत असोज २१ गते भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो । सोही समन्वयअनुसार महेन्द्रनगरबाट खरिद प्रक्रिया सुरु गर्न लागिएको हो ।
सरकारले यो प्रक्रिया क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।