काठमाडौँ। नेपालको मौलिक संस्कृति र पर्यटनलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा आयोजना हुन लागेको प्रतियोगितामा कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परा झल्किने सिर्जनात्मक भिडियो बनाउनुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल तयार पार्नेले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसम्बन्धी भिडियो अङ्ग्रेजी भाषामा तयार गरी इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । भिडियोमा अङ्ग्रेजी उपशीर्षक वा वाचन अनिवार्य गरिएको छ । साथै, सम्बन्धित सामाजिक सञ्जालमा नेपाल पर्यटन बोर्डलाई ट्याग गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।
सहभागीले सामाजिक सञ्जालमा प्रकाशित भिडियो र डाउनलोड गर्न मिल्ने गुगल ड्राइभ लिङ्क इमेलमार्फत बोर्डमा पठाउनुपर्नेछ । भिडियो मौलिक हुनुपर्नेछ भने प्राप्त सामग्री पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारमा प्रयोग गर्न सकिने बोर्डले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति नोभेम्बर २१ अर्थात् मङ्सिर ५ गतेसम्म तोकिएको छ । प्रतियोगितामार्फत नेपालको सांस्कृतिक पहिचान र जीवजन्तुप्रतिको प्रेम तथा सम्मानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने बोर्डको लक्ष्य छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।