काठमाडौं। रिपब्लिकन पार्टीको बलियो पकड मानिएका केही निर्वाचन क्षेत्रमा डेमोक्रेटिक उम्मेदवार विजयी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजा स्वीकार गर्न आफू तयार रहेको बताएका छन्।
‘द न्यूयोर्क टाइम्स’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले मध्यावधि निर्वाचनको नतिजालाई पूर्ण रूपमा स्वीकार गर्न तयार रहेको बताएका हुन्। उनले विपक्षी दलसँग मिलेर काम गर्ने चाहनासमेत व्यक्त गरेका छन्।
ट्रम्पले भने, ‘हो, म यी नतिजालाई पूर्ण रूपमा स्वीकार गर्न तयार छु।’
उनले अगाडि भने, ‘हामी उनीहरूसँग मिलेर काम गर्ने अपेक्षा गर्नेछौँ।’
ट्रम्पले थपे, ‘सम्भवतः हामी मिलेर कुनै बाटो निकाल्न सक्छौँ।’
यद्यपि त्यसको केही समयअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ खातामा ‘भिटो’ लेखिएको टोपीको तस्बिर साझा गरेका थिए।
यसअघि ट्रम्पले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएससँग कुरा गर्दै राष्ट्रपतिका रूपमा आफूसँग रहेका सबै अधिकार प्रयोग गर्ने बताएका थिए। उनको उक्त अभिव्यक्तिले सिनेट र प्रतिनिधिसभामा बहुमत गुमाए पनि विभिन्न निर्णयमा राष्ट्रपतिको अधिकार प्रयोग गर्न सक्ने संकेत दिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।