काठमाण्डौ । तिहारलाई लक्षित गरी मुस्ताङबाट कुल १ हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन्। तीमध्ये १ हजार ३८५ च्याङ्ग्रा र २०६ भेडा रहेका छन्।
मुस्ताङस्थित कृषि तथा पशु विकास कार्यालयका अनुसार उपल्लो मुस्ताङ र डोल्पाबाट जोमसोम ल्याइएका भेडाच्याङ्ग्रा व्यापारीहरूले खरिद गरी काठमाडौं पोखरा बागलुङ र म्याग्दीलगायतका बजारतर्फ लगेका हुन्।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार मुस्ताङका स्थानीय पशुपालक तथा व्यापारीबाट १ हजार १५० च्याङ्ग्रा र १३६ भेडा बेँसी झारिएको छ। त्यस्तै उपल्लो डोल्पाबाट मुस्ताङ ल्याइएका २३५ च्याङ्ग्रा र ७० भेडा पनि बिक्रीका लागि बजारतर्फ पठाइएको छ।
एक जिल्लाबाट अर्को जिल्लामा भेडाच्याङ्ग्रा लैजानुअघि पशु चिकित्सकबाट निरोगिताको प्रमाण आवश्यक पर्ने भएकाले तिहारका लागि झारिएका सबै भेडाच्याङ्ग्राको भेटेरिनरी परीक्षण गरिएको कार्यालयले जनाएको छ।
यसअघि दशैंका लागि मुस्ताङबाट १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरिएका थिए। त्यसमध्ये ५०० भन्दा बढी तिब्बतबाट कोरला नाका हुँदै नेपाल ल्याइएका थिए। तिहारका लागि भने दशैंको तुलनामा करिब १० प्रतिशत मात्र भेडाच्याङ्ग्रा बेँसी झरेको कार्यालयको भनाइ छ।
उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्काइने भेडाच्याङ्ग्राको मासुको माग विशेषगरी दशैं तिहारका बेला उच्च हुने गरेको छ। पछिल्लो समय पशु बीमा गोठ सुधार तथा आहार व्यवस्थापनमा सरकारी अनुदान बढेसँगै मुस्ताङमा व्यावसायिक पशुपालनप्रति आकर्षण बढेको कार्यालयले जनाएको छ।
यद्यपि जलवायु परिवर्तन पानीका मुहान सुक्ने समस्या र हिमचितुवालगायत वन्यजन्तुको जोखिमका कारण हिमाली क्षेत्रको पशुपालन व्यवसाय चुनौतीपूर्ण बन्दै गएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।