काठमाण्डौ । ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सञ्चालन भएको मेलाको अन्तिम दिन बुधबार मात्रै २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जनाएको छ। अन्तिम दिन ६ हजार ५८१ जनाले मेला अवलोकन गरेका थिए।
मेला संयोजक सुमन महर्जनका अनुसार प्रतिकूल मौसमका बाबजुद कारोबार र अवलोकनकर्ताको उपस्थिति अपेक्षाअनुसार रहेको थियो।
प्रदर्शनीको पहिलो दिन ८ हजार ९ सय, दोस्रो दिन ४ हजार २ सय, तेस्रो दिन १० हजार ७ सय, चौथो दिन ७ हजार २५० र पाँचौँ दिन ६ हजार ७५६ जनाले मेला अवलोकन गरेका थिए।
मेलाको पाँचौँ दिन मात्रै २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो।
छैटौँ तथा अन्तिम दिन मेला सहभागी पुष्प व्यवसायीलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै आउँदै गरेको शुभदीपावलीको अवसरमा फ्यानका सदस्य पुष्प व्यवसायीबीच सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गरिएको थियो।
मेला स्थलमा विभिन्न लोक कलाकारले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।