काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।
भेटमा विशेषगरी चाडपर्वका बेला नागरिकको सुरक्षा, भीडभाड व्यवस्थापन, अपराध नियन्त्रण तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे छलफल भएको थियो।
प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
उनले नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन सम्बन्धित सुरक्षा निकायलाई सचेत रहन निर्देशन दिएका छन्।
त्यस्तै, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थापनलाई थप चुस्त–दुरुस्त बनाउन पनि प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्।
चाडपर्व नजिकिँदै गर्दा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।