काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।
उनका अनुसार एआईले जैविक अनुसन्धान, औषधि खोज तथा चिकित्सा क्षेत्रमा नयाँ आविष्कारको गति तीव्र बनाउँदै मानवजातिले लामो समयदेखि समाधान गर्न नसकेका रोगको उपचार खोज्न सहयोग गर्नेछ।
गुगलका एआई प्रमुख डेमिस हसाबिसले पनि औषधि विकासमा लाग्ने एक दशकको काम एआईको सहायताले केही सातामै पूरा गर्न सकिने सम्भावना औँल्याएका छन्। उनले २० करोडभन्दा बढी प्रोटिन संरचनाको नक्साङ्कन गरेको अल्फाफोल्डलाई एआईको वैज्ञानिक उपलब्धिको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। एलन मस्कले समेत एआईका कारण सबै मानिसले उच्चस्तरीय स्वास्थ्य सेवा पाउने दाबी गरेका छन्।
तर औषधि निर्माता कम्पनी र वैज्ञानिकहरू भने यस्ता दाबीप्रति विश्वस्त छैनन्। भर्टेक्स फर्मास्युटिकल्सका कार्यकारी अध्यक्ष जेफ लिडेनले एआईसम्बन्धी यस्ता समयसीमालाई निराधार भन्दै कम्पनीले ५० वटा एआई प्रविधिमार्फत १० हजार औषधिजन्य यौगिक परीक्षण गर्दा एउटाले पनि आफैँ प्रभावकारी औषधि विकास गर्न नसकेको बताएका छन्।
विज्ञहरूका अनुसार औषधिको सम्भावित अणु पहिचान गर्न एआईले गति बढाए पनि प्रयोगशाला, जनावर र मानिसमा गरिने परीक्षण तथा नियामक स्वीकृतिको प्रक्रिया हटाउन सकिँदैन। औषधि विकासमा सामान्यतः १० देखि १२ वर्ष लाग्ने भएकाले एआईले मात्रै यो अवधि छोट्याउने निश्चित छैन।
संज्ञानात्मक वैज्ञानिक गेरी मार्कस र मुटुरोग विशेषज्ञ एरिक टोपोलले पनि वर्तमान एआई मोडेलमा जटिल जैविक प्रक्रियाको गहिरो बुझाइ अभाव रहेको औँल्याएका छन्। सन् २०२६ सम्म एआईको सहयोगमा डिजाइन गरिएको कुनै औषधिले पूर्ण चिकित्सकीय प्रयोगको स्वीकृति पाएको छैन।
विज्ञहरूले सन् १९७० को दशकमा सुरु गरिएको ‘क्यान्सरविरुद्धको युद्ध’ जस्तै महत्त्वाकाङ्क्षी घोषणाले वास्तविक उपलब्धिभन्दा बढी जनअपेक्षा सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।