काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई पूर्ण सफलता चाहिएको बताएका छन् । अमेरिकालाई ‘९३ प्रतिशत जित’ स्वीकार्य नहुने भन्दै उनले युद्ध अन्त्य गर्ने समयबारे निर्णय लिन बाँकी रहेको बताएका हुन् ।
भेट्रान्स डेका अवसरमा अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई आफ्नो प्रशासनको उपलब्धिका रूपमा प्रस्तुत गरे । अमेरिकी सेनाकै कारण इरानले अब कहिल्यै परमाणु हतियार बनाउन नसक्ने उनको दाबी छ ।
‘हामीले जवाफ दियौँ र हामीले जित्यौँ पनि । अब प्रश्न यो मात्रै हो कि हामी यसलाई कहिले अन्त्य गर्न चाहन्छौँ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रातोपाटीले जनाएको छ ।
ट्रम्पले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको जिकिरसमेत गरे । सन् १९७९ देखि नै इरानले अमेरिकाविरुद्ध युद्ध छेडिरहेको आरोप लगाउँदै उनले यसको जवाफ आफ्नो प्रशासनले दिएको बताए । धेरैअघि समाधान गरिनुपर्ने समस्या आफ्नो कार्यकालमा आएर सम्बोधन भएको उनको दाबी थियो ।
इरानमा अमेरिकी आक्रमणबाट ध्वस्त भएका संरचना पुनर्निर्माण गर्न २५ वर्ष लाग्ने दाबी पनि ट्रम्पले गरे । उनले इरानलाई पुनः उभ्याउन ठूलो काम गर्नुपर्ने अवस्था रहेको बताए ।
यद्यपि, इरानमा थप संरचना ध्वस्त पार्नुपर्ने अवस्था नआओस् भन्ने आशा उनले व्यक्त गरे । युद्ध जितिसकेको दाबी दोहोर्याउँदै ट्रम्पले अमेरिकाको लक्ष्य पूर्ण जित नै रहेकोमा जोड दिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।