काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गर्दै खुद नाफा आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको हो।
अघिल्लो तुलनात्मक अवधिमा कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ खुद घाटामा रहेको थियो। यससँगै कम्पनीले घाटाबाट नाफामा फर्किँदै आफ्नो वित्तीय अवस्थामा सुधार गरेको देखिएको छ।
कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क १३.७९ प्रतिशतले वृद्धि भएर ३३ करोड ८ लाख ९३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो अवधिमा यस्तो बीमाशुल्क २९ करोड ७ लाख ८६ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, कम्पनीको कुल आम्दानी १७.३३ प्रतिशतले बढेर ६३ करोड २४ लाख २४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो अवधिमा कम्पनीले ५३ करोड ९० लाख ११ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो।
कम्पनीको खर्चमा आएको उल्लेख्य कमीले पनि नाफा सुधारमा सहयोग पुगेको देखिन्छ। समीक्षा अवधिमा कुल खर्च २५.०६ प्रतिशतले घटेर ५७ करोड ३६ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो अवधिमा कम्पनीको कुल खर्च ७६ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको थियो।
यद्यपि, कम्पनीको कुल दाबी भुक्तानी भने ९७ प्रतिशतले बढेर १३४ करोड ३ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो अवधिमा कम्पनीले ६८ करोड २ लाख २४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो। त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी ३५.०१ प्रतिशतले घटेर ४ करोड २८ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख ६७ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा जगेडा कोष १.२४ प्रतिशतले बढेर १ करोड ६८ लाख १९ हजार रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ २८.५१ प्रतिशतले वृद्धि भएर ८ करोड १५ लाख ६७ हजार रुपैयाँ पुगेको छ।
यसैगरी, कम्पनीको बीमा कोष ३२.१५ प्रतिशतले बढेर १ अर्ब ३१ करोड २९ लाख ७१ हजार रुपैयाँ पुगेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ लाख २ हजार ३१२ वटा बीमालेख जारी गरेको छ। अघिल्लो अवधिमा यस्तो संख्या ७९ हजार ४४० रहेको थियो।
नाफामा सुधार आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मकबाट सकारात्मक बनेको छ। अघिल्लो अवधिमा २१ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको ईपीएस समीक्षा अवधिमा ५ रुपैयाँ ३० पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ७४ पैसा रहेको छ।
समग्रमा बीमाशुल्क तथा कुल आम्दानीमा भएको वृद्धि र सञ्चालन खर्चमा आएको कमीले शिखर इन्स्योरेन्सको पहिलो त्रैमासको वित्तीय नतिजामा सुधार देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।