शनिबार, फाल्गुन १०,२०८१ 08:53:21
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:53:21
IME remit
Global IME Bank Limited

केही कर्मचारीले इन्धन संकटमा सुरु गरेको साइक्लिङ बन्यो सांग्रिला बैंकको ‘सिग्नेचर प्रोग्राम’

Hyundai Nepal
केही कर्मचारीले इन्धन संकटमा सुरु गरेको साइक्लिङ बन्यो सांग्रिला बैंकको ‘सिग्नेचर प्रोग्राम’
Nabil Bank Limited

काठमाण्डौ । ‘इन्धन जोगाऔं, वातावरण बचाऔं’ भन्ने मूल नाराका साथ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तेस्रो साइकल र्‍याली आयोजना गर्दैछ । आर्थिक वर्ष २०७८/७९ मा देशमा आर्थिक संकट चलिरहेको अवस्थामा पेट्रोलियम पदार्थको प्रयोग कम गर्न वा इन्धन बचाउन बैंकका केही कर्मचारीले साइकलको प्रयोग गरी ‘साइकल र्‍याली ’ कन्सेप्ट सुरु भएको थियो ।  

विश्व वातावरण दिवसको अवसर पारेर बैंकले यहि जेठ १९ गते शनिबार तेस्रो साइकल र्‍यालीको आयोजना गरेको छ । बैंकले गत दुई वर्ष पनि वातावरण दिवसकै अवसर पारेर यस्तो आयोजना गरेको थियो ।  

वातावरण प्रबर्द्धनप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययीता एवम् साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्‍याउनका लागि बैंकले वातावरण दिवसकै अवसरमा साइकल र्‍यालीको आयोजना गर्दै आइरहेको छ ।  

साइकलजस्तो वैकल्पिक साधनको प्रयोग गरी समाजलाई प्रदुषणमुक्त बनाउनु यो र्‍यालीको मुख्य उद्देश्य रहेको छ ।  

सांग्रिला बैंकले आयोजना गरेको पहिलो साइकल र्‍यालीको एक दृश्य । 

आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासतिर विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले विलासी स्रोतसाधन र इन्धनको उपयोग कम गर्न आयात कम गरेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकका केही कर्मचारीहरुले सो समय इन्धन बचाउन वा खपत कम गर्न साइकल चलाएरै कार्यालय आउने जाने गर्थे । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

पेट्रोलियम पदार्थ आयातमा सरकारको अर्बौ रकम खर्च हुने भएपछि इन्धनबाट चल्ने सवारीको वैकल्पिक सवारीको रुपमा साइकल चलाएर इन्धन बचाउने अभियानपछि साइकल र्‍यालीको आयोजना सुरु भएको बैंकका आइटी डिपार्टमेन्ट  हेड सन्तोष पंगेनीले बताए ।  

सांग्रिला बैंकले आयोजना गरेको पहिलो साइकल र्‍यालीको एक दृश्य । 

‘सरकारको महिनामै ३० देखि ३२ अर्ब रुपैयाँसम्मको पेट्रोलियम पदार्थ आयातमा खर्च हुँदो रहेछ । यो हिसाबले वर्षको साढे ३ सय अर्ब रुपैयाँ इन्धन आयातमा मात्रै सरकारको खर्च हुने देखिएपछि हामी बैंकका केही कर्मचारीले साइकल चलाएर इन्धन बचाउने अभियान सुरु गरेका थियौं’ उनले भने, ‘दुई वर्षअघि सरकारले इन्धन आयातमा कम गरेपछि पम्पहरुमा समेत पर्याप्त पेट्रोल हुन्थेन । हामी बैंकका केही कर्मचारीले सुरुमा ग्रुप बनाएर एकजनाको सवारीमा पालैपालो जसरी बैंक आउने/जाने गर्थ्यौं । तर केही समयपछि इन्धनबाट चल्ने सवारीको वैकल्पिक रुपमा हामीले साइकल चलाउने योजना बनायौं, जुन आज सांग्रिला डेभलपमेन्ट बैंकले एक अभियानकै रुपमा अघि बढाएको छ ।’

सांग्रिला बैंकले आयोजना गरेको दोश्रो साइकल र्‍यालीको एक दृश्य । 

देशमा आर्थिक संकट चलिरहँदा सरकारले पेट्रोलियम पदार्थ आयातमा कम गरेपछि पर्याप्त पेट्रोल नहुँदा विकल्पको रुपमा साइकल चलाएर सुरु भएको उक्त अभियान यतिबेला सांग्रिला डेभलपमेन्ट बैंकको ‘सिग्नेचर प्रोग्राम’ बन्न पुगेको छ ।  

२०७८ साल फागुन महिनाबाट बैंकका २०–२५ जना कर्मचारीले साइकल चलाएर इन्धन बचाउने अभियान ल्याएपछि यसलाई बैंकको औपचारिक अभियान नै बनाउने धेरै प्रतिक्रिया आएपछि साइकल र्याली आयोजना सुरु भएको पंगेनी बताउँछन् ।  

‘२०७९ सालको सुरुवातमै विदेशी विनिमय सञ्चिती घट्दो र शोधानान्तर घाटा बढ्दो स्थितिले नेपालको अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले पेट्रोलियम पदार्थको आयात घटाई प्रयोगमा समेत कम गर्न शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो’ उनले भने, ‘२०७९ सालको वातावरण दिवस आइतबार सार्वजनिक विदाकै दिन परेको थियो । विदाकै दिन परेकाले हामीले वातावरण दिवसको अवसर पारेर 'इन्धन जोगाऔं र वातावरण बचाऔं' भन्ने हिसाबले बैंकका कर्मचारी र सञ्चालकहरु मात्रै गरी १५० जनाले साइकल र्‍याली सुरु गरेका थियौं ।’

पंगेनीका अनुसार पहिलो वर्षमा बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु गरिएको र्‍याली १० किलोमिटरपछि बालुवाटारमै अन्त्य गरिएको थियो । पहिलो वर्ष गरिएको र्‍यालीबाटै समाजमा राम्रो सन्देश प्रवाह भएको प्रतिक्रिया आएको पंगेनी बताउँछन् ।  

सांग्रिला बैंकले आयोजना गरेको दोश्रो साइकल र्‍यालीको एक दृश्य । 

‘प्राइभेट सेक्टरबाट इन्धन प्रयोग कम गर्न वा वातावरण जोगाउनका लागि यसरी साइकल र्याली कसैले पनि गरेको थिएन । अन्य क्षेत्रहरुबाट पनि धेरै सकारात्मक प्रतिक्रिया आउन थालेपछि बैंकको बोर्ड र म्यानेजमेन्ट टिमबाटै साइकल र्‍यालीलाई बैंकको सिग्नेचर प्रोग्रामको हिसाबले अगाडि बढाउने कुरा भएपछि सांग्रिला बैंकले साइकल र्‍यालीलाई निरन्तरता दिन थालेको हो’ उनले भने, ‘बैंकले यसपटक तेस्रो साइकल र्‍याली अझ विशेष गर्न लागेको छ । यो अभियानबाट इन्धनको प्रयोग कम हुने र वातावरण स्वच्छ हुने बैंकले अपेक्षा लिएको छ । साथै यसपटकको साइकल र्‍यालीमा अझै धेरैजनाको सहभागिता हुनेमा विश्वस्त छु ।’

दोस्रो वर्ष अर्थात् २०८० सालको साइकल र्‍यालीमा ५ सयभन्दा बढीको सहभागिता रहेको उनले बताए । ‘गत वर्षको साइकल र्‍यालीमा हामीले ५ सय जनाको टार्गेट बनाएर पब्लिकलाई समेत र्‍यालीमा सहभागी गराएका थियौं । जसमा बैंकको कर्मचारीहरु डेढसय जना र पब्लिक करिब ३ सय जना जति गरी ५ सय भन्दा बढीको साइकल र्‍यालीमा सहभागिता थियो’ उनले भने, ‘सुरुको वर्षमा इकोनोमिक क्राइसिस थियो अहिले अर्थतन्त्रमा केही सुधार भएको छ । पहिले र अहिलेको सिनारियो केही फरक भएपनि इन्धन बचत गर्दा फाइदा नै हुने भएकाले हामीले यो अभियानलाई निरन्तरता दिन लागेका हौं ।’

साथै काठमाण्डौंका सडकमा साइकल लेन बनाई साइक्लिङ सिटि हुनुपर्छ भन्ने उनी मान्यता राख्छन् । ‘इन्धनको बचत गर्न सर्वप्रथम साइकल चलाउन काठमाण्डौं, भक्तपुर र ललितपुरका सडकहरुमा साइकल लेन अनिवार्य हुन आवश्यक छ । धेरैबाट साइकल लेन भएन र काठमाण्डौका सडकमा साइकल चलाउन सुरक्षित छैन भन्ने खालका गुनासाहरु आउने गर्छ ।’ उनले भने, ‘सरकारले पेट्रोलियम पदार्थ आयात कम गर्न वा खपत घटाउन साइक्लिङलाई प्रमोट गर्न आवश्यक छ । उपत्यकाका सडकहरुमा साइकल लेन छुट्याएर सुरक्षित ढंगबाट साइक्लिङको व्यवस्था गरेमा सांग्रिला डेभलपमेन्ट बैंकले बोकेको अभियान सार्थक बन्नेछ ।’

गत वर्षको साइकल र्‍यालीमा 'लक्की ड्र'मार्फत ५० हजार रुपैयाँ बराबरको साइकल उपहार राखिएको थियो । यो वर्षको साइकल र्‍याली अझ विशेष हुने पंगेनी बताउँछन् । ‘गत वर्षको र्यालीमा ५ सय जनाको उपस्थित टार्गेट राखेका थियौं, यो वर्ष दोब्बर अर्थात् हजार जनाको उपस्थिति गराउने योजना रहेको छ, तर गत दुई वर्षको सकारात्मक प्रतिक्रियाले गर्दा आजसम्म १२ सय जनाले र्‍यालीमा सहभागी हुन रजिष्टर गरिसक्नु भएको छ । सायद बैंकले यसपटक १५ सयसम्मको उपस्थितिमा साइकल र्‍याली सम्पन्न गर्नेछ ।’

यसबाहेक यस वर्षको साइकल र्‍यालीमा लक्की ड्रमार्फत एकजना भाग्यशाली व्यक्तिलाई साइकल उपहारका साथै सहभागी सम्पूर्णलाई टि–सर्टसँगै गिफ्ट ह्याम्परको समेत व्यवस्था रहेको उनले बताए । यस वर्षको साइकल र्‍यालीमा सहभागी हुन धेरैजसो एनजीओ, आइएनजीओ, शिक्षक, विद्यार्थीहरुबाट रजिष्टर भएको उनले बताए ।  

सांग्रिला बैंकले आयोजना गरेको दोश्रो साइकल र्‍यालीको एक दृश्य । 

बैंकले तीनवर्षअघिदेखि गर्दै आएको साइकल र्‍यालीमा उपस्थित हुनेको संख्या वर्षेनी बढ्दै गएको छ । आगामी वर्षहरुमा अझै विशिष्टिकृत ढंगबाट यो अभियानलाई अगाडि बढाउँदै लैजाने बैंकको योजना रहेको पंगेनी बताउँछन् ।  

‘बैंकले मुख्यतः इन्धनको खपत घटाउन र वातावरण स्वस्थ राख्न यो अभियानलाई अगाडि सारेको हो । विशेषगरी प्राइभेट तथा बैंकिङ सेक्टरबाट यस्ता खालका अभियानहरु कसैले पनि गर्नुभएको छैन ।’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु भएतापनि समाजलाई सकारात्मक प्रभाव पार्ने खालको यस्तो अभियान सांग्रिला डेभलपमेन्ट बैंकले मात्रै गरेको छ । यो अभियान निष्पक्ष रुपमा इन्धनको प्रयोग कम गर्नु वा खपत घटाउने र वातावरणलाई स्वच्छ राख्नु हो ।’

इन्धनबाट चल्ने सवारीको विकल्पको रुपमा अहिले इभी गाडीहरुको आयात बढ्दो छ । इन्धन बचाउनलाई इभी गाडी, साइकल वा इभीकै सार्वजनिक यातायात जस्ता सवारीहरु उपयुक्त मेथड हुनसक्ने पंगेनीको भनाई छ ।  

‘नेपालमा अधिकांश वस्तुहरु आयात हुने भएकाले इन्धनको सट्टा ईभी गाडी, साइकल वा अन्य माध्यमहरुलाई जोड दिनसक्यौं भने वातावरण प्रदूषण हुनबाट जोगिन्छ’ उनले भने, ‘पछिल्लो समय ईभी गाडीको प्रयोगमा बृद्धि हुँदै गएको छ । हाम्रो थिमअनुसार इन्धन बचाउन साइक्लिङलाई पनि त्यसरी नै प्रोमोट गर्न सके अबको केही वर्षमा इन्धन आयात कम हुनसक्छ ।’

सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको साइकल र्‍यालीको थिम ईभीसँग मिल्दोजुल्दो भएकाले बिवाइडी अटो इन्डस्ट्रीले पनि यो अभियानमा सहकार्य गरेको छ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल यो अभियानको मुख्य स्पोन्सरको रुपमा रहेको छ ।  

बैंकले चालेको यो अभियान ठूलो लेभलमा प्रचारप्रसार नगरेपनि सहभागी हुनेको संख्या बढ्दो छ । जेठ १६ गतेसम्म साइकल र्यालीमा सहभागी हुन रजिष्टर गर्न सकिनेछ ।  

साइकल र्‍यालीपश्चात् सहभागीलगायत अन्य क्षेत्रबाट उक्त अभियानबारे प्रतिक्रिया लिने आइटी डिपार्टमेन्ट हेड पंगेनी बताउँछन् । यो वर्ष उक्त अभियान सफल पार्न बैंकले अझ अभियान विशिष्टकृत बनाएको छ । आगामी वर्षमा अझ प्रतिक्रिया बटुल्दै 'इन्धन जोगाऔं, वातावरण बचाऔं' अभियानलाई थप व्यवस्थित बनाउने जमर्को गर्ने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।  

बैंकको साइकल र्‍याली जेष्ठ १९ गते शनिवार बिहान ७ः०० बजे सानो गौचरणबाट शुरु भई लगभग १० किमीको यात्रा पश्चात सानो गौचरणमै आएर सम्पन्न हुनेछ ।   

यसैगरि, र्‍यालीमा नाम दर्ता गर्ने पहिलो १००० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र”बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.