काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा आज युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उपसभापति गुरुङले यस्तो माग गरेका हुन् ।
गुरुङले देशमा आर्थिक सुशासन कायम गर्न ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।
‘आर्थिक सुशासनका लागि मेरो प्रश्ताव हो यो–५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्विट गरेर जान आवश्यक छ,’ गुरुङले भने ,‘ यदि ५ सय हजारको नोट क्विट गर्ने हो भने ८० प्रतिशत गैर कानूनी कारोबार राकिन्छ,८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ र ८० प्रतिशत राजश्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त सिरानीमुनी भएका पैसा, खाट मुनी भएको पैसा, पानी मुनि भएको पैसा र जमिनमुनि भएको पैसा बाहिर आउछन् ।’