बुधबार, श्रावण १३,२०८३ 06:00:13
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 06:00:13
Bizshala
Global IME Bank Limited

आन्तरिक राजश्व विभागले ११% ले बढायो राजश्व संकलन

आन्तरिक राजश्व विभागले ११% ले बढायो राजश्व संकलन
New Office

काठमाण्डौ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व संकलनमा वृद्धि भएको हो । चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजश्व विभागले कूल ४ खर्ब ४८ अर्ब राजश्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो ।  

गत वर्ष जेठ मसान्तसम्मको राजश्व असुली ४ खर्ब ८ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजश्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।  

आयकर (भाडा र व्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तशुल्कबाट ९५ अर्ब संकलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजश्व उठेको छ । हालसम्म कूल लक्ष्यमा राजश्व असुली ७८.५ प्रतिशत रहेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजश्व संकलनमा तीव्रता दिइने तिवारीले बताए ।  

अर्थमन्त्री वर्षमान पुन अनन्तले राजश्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय भएको तिवारीले बताए । गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको महत्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन ।  

राजश्व संकलनमा करदाता कार्यालयहरुमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ । यो कार्यालयले १ खर्ब ७५ अर्ब राजश्व उठाएको छ । ठूला करदाता कार्यालयको लक्ष्य २ खब ३८ अर्ब थियो । वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता संख्या ५ सय ४५ छन् ।  

कोरोना महामारीसहित विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजश्व संकलनमा कमी आए पनि चालु आबको पछिल्लो अवधिमा अर्थतन्त्रमा आएको सुधारका कारण राजश्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् । यस्तै अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा सरकारले पुँजीगत खर्च बढाएका कारण पनि राजश्व संकलनमा सकारात्मक प्रभाव परेको उनले जनाए ।  

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष ०८०/०८१ मा समग्रमा ४३ प्रतिशतको महत्वाकांक्षी राजश्व वृद्धिको लक्ष्य निर्धारण गरेका थिए । कूल लक्ष्यमध्ये कर प्रशासनका प्रमुख दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई ५०/५० प्रतिशत राजश्वको लक्ष्य दिइएको हुन्छ ।  

लक्ष्यअनुसार राजश्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत डा। महतले १२ खर्ब २ अर्बको लक्ष्य निर्धारण गरेका थिए । तर, आर्थिक वर्षको अन्तिम महिनासम्म लक्ष्यभन्दा धेरै कम अर्थात १० प्रतिशत हाराहारी मात्र राजश्व संकलन हुन सकेको छ । अपेक्षित रुपमा राजश्व संकलन हुन नसक्दा बाह्य सूचकको तुलनामा मुलुकको अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेको छैन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.