काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको सेयरको अन्तिम बाँडफाँड विहीबार हुने भएको छ । कम्पनीको लिलामी सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) गत माघ ५ गते खोलिएको थियो ।
करिब १२ दिन पहिले नै बोलपत्र खोलिएको भएता पनि सबै बोलपत्रलाई कम्प्युटर प्रणालीमा राख्नु पर्ने भएकोले बिहीबारसम्म अन्तिम बाँडफाँड हुने भएको हो ।
मुख्य बिक्री प्रबन्धक नागरिक लगानीकोषका पूँजीबजार बिभागका उपकार्यकारी निर्देशक नारायण प्रसाद घिमिरेले दिएको जानकारी अनुसार यससम्बन्धि सम्पूर्ण कार्य आज साँझसम्म सकिनेछ ।
घिमिेरेले बिहीबारसम्म अन्तिम बाँडफाँड हुने जानकारी दिए । अन्तिम बाँडफाँडमा कट अफ मूल्य १४६ हुने तर १४६ मा हालेका सबैले भने सेयर नपाउने उनले जानकारी दिए । उनका अनुसार बोलपत्रमा १४७ रुपैयाँ सम्म आबेदन हालेका सबैले सेयर पाउने छन् । बाँडफाँडमा नपरेको पैसा एक साता भित्र फिर्ता हुने पनि घिमिरेले जानकारी दिए ।
कम्पनीको हकप्रद सेयर बाँडफाँडपश्चात बाँकी रहेको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म बोलकबोलमार्फत बिक्रीमा राखिएको थियो ।