काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मर्जर गएका दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जरमा गएका किसान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९(३)बमोजिम दुवै संस्थाको सेयर कारोबार असार २७ गतेदेखि लागू हुनेगरी रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।
यी दुवै संस्थाले असार २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्दै छन् । यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
आपसमा गाभिएर एउटै बनेको मातृभूमी लघुवित्त केन्द्रीय कार्यालय हाल किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान लम्किचुहा–४ कैलाली र कर्पोरेट कार्यालय बुढानिलकण्ढ–८ काठमाण्डौमा रहने छ ।
यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्नेरगाभिने(मर्जर) कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।