काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिंदै गर्दा एमाले र कांगे्रसका नेतामाथि गम्भीर आरोप लगाएका छन् ।
उनले कांग्रेस र एमालेले गरेको सहमति षड्यन्त्र भएको संज्ञा गर्दै कुनै शक्तिकेन्द्रले यी दुई पार्टीलाई मिलाइदिएको आरोप लगाएका हुन् ।
'तपाईहरु आफैं मिल्नुभएको होइन । कसैले तपाईहरुलाई मिलाइदिएको हो, यो कुरा जनताले बुझेका छन् ।' उनले भने-'जुन समूहले जोडेको छ तिनीहरुको सेवा नै तपाईहरुको कर्तव्य हो भन्ने कुरा पनि सबैले बुझेकै छन् ।'
ऐतिहासिक र युगान्तकारी घटनाको एक नेताको हैसियतले सहमति नाघेर, संविधान संसोधनको नाममा राष्टलाई दन्दमा लैजाने दुस्साहस नगर्न समेत चेतावनी दिएका छन् ।
'तपाईहरु सरकारसँग डराएर यो ठाउँमा पुग्नुभयो । प्रमको रुपमा मैले लोकतन्त्रको सर्भिसिंग सुरु गरेको थिएँ, गोडमेल सुरु गरेको थिएँ । विधिको शासन सुरु गरेँ । राज्यको दोहान गरेको समूहसँग जुध्ने हिम्मत गरे । तपाईहरु आफैं मिलेको सत्य होइन, तपाईहरुलाई कसैले मिलाएको हो । किन मिलाएको हो घाम झै छर्लंग छ ।' दाहालले भने-'नियत सफा भएको भए राष्टिय सहमतिका लागि सहमति गर्न अँध्यारो र बन्द कोठा चाहिन्छ ? झूठ कतिसम्म बोल्नसक्नुहुन्छ, कुतर्कको साहारा र मध्यरात चाहिन्छ र दुई ठूला दल मिल्नलाई ?'
उनले कांग्रेस र एमालेका नेताहरुले डराएर आफ्नो सरकार ढाल्ने काम गरेका दाबी समेत गरे । 'साथीहरु डराइरहनुभयो र राजीनाम मागिरहनुभयो । आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले समेत नैतिकताको पाठ पठाउने कोशिश गरिरहनुभयो ।' उनले आक्रोशित हुँदै भने-'कि यो संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ । तर माओवादीले यसलाई कमजोर बनाउने दिंदैन, दिने पनि छैन ।'
संविधानलाई मध्यरातमा झम्टी झम्टी च्यात्न खोज्दा पनि सडकमा साथ दिएर बचाइएको हो र आउने दिनमा पनि त्यसै गरी बचाइने उनले उद्घोष गरे ।
'सरकारलाई प्रभावहीन बनाउने कोशिश गर्नुभयो । विश्वासको मत फिर्ता लिएपछि एउटा पनि नियुक्ति गरेको छैन । यो नैतिकता तपाईले देखाउनुभएको छ ? अल्पमतमा परेको बेला विगतमा एमालेले कस्तो कस्तो नियुक्ति गरेको छ, त्यो इतिहासमा सुरक्षित छ । मेटाएर मेटिन्न नि ।' उनले अगाडि भने-'पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु । पहिलो र दोश्रो ठूलो दललाई विश्वासले जोडेको भए, आदर्शले जोडेको भए, निश्चित उद्देश्यले जोडेको भए चिन्ताको विषय हुने थिएन । डर र भयले जोड्यो तपाईहरुलाई । त्यो डर हो सुशासनको डर । तपाईहरुको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, मूल्यांकन गरिरहनुभएको छ ?'
उनले कांग्रेस एमालेले सरकार मात्र बनाउने प्रयास नगरेका, बरु वर्तमान संविधानमाथि रहस्यमय ढंगले छेडछाड गर्ने प्रयास भइरहेको दाबी गरे । 'तपाईहरु जनताले पाएको अधिकार खोस्न खोज्दै हुनुहुन्छ । तपाईको यात्रा प्रतिगमनतिर हो भन्ने देखिन्छ । सहमतिको हस्ताक्षर कसको घरमा, कुन बेला, कसको घरमा रोज्नुभयो, नेपाली जनताले त्यसको हिसाब राखिरहेका छन् ।' उनले थपे-'नयाँ समीकरण बन्दै गर्दा, तपाईको अभिव्यक्ति सुन्दै गर्दा मिल्नुस भनेकै थिए । त्यही दिन आयो, अनौठो मानेको छैन।'
उनले आफूहरुले विगतमा १२ बुँदे समझदारी दिनको उज्यालोमै गरेको, विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर पनि संसारलाई नै साक्षी राखेर गरेको स्मरण गर्दै अँध्यारो कोठामा छलछामपूर्ण सहमति भएको दाबी गरे ।