काठमाण्डौ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी चाँडो दिइने बताएका छन्। शनिबार मन्त्री दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी छिटोभन्दा छिटो दिइने बताएका हुन्।
उनले मन्त्रालयले भुक्तानी दिनुपर्नेहरुको विवरण संकलन गरिरहेको र विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरेपछि भुक्तानी दिइने बताए। जति छिटो विवरण संकलन हुन्छ त्यति नै छिटो निर्माण व्यवसायीले भुक्तानी पाउने उनको भनाइ छ।
उनले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको आयोजनाहरू पनि सय प्रतिशत कार्यान्वयन गराउने गरी लागिरहेको बताए। सबै कार्यान्वयन नभए ९० प्रतिशतभन्दा बढी कार्यान्वयन गर्न सक्ने उनले विश्वास व्यक्त गरे।
मन्त्री दाहालले विगतको सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई वर्तमान सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सुनाए।