गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई निकै माथि उठाउने योजना बनाएका छन् । दोश्रो कार्यकाल सुरुवातको पहिलो कार्यदिनमै उनले बिजशाला प्रतिनिधिसँग आफ्नो योजनाहरुको विषयमा बेलीबिस्तार लगाए । प्रस्तुत छ पोखरेलसँगको गरिएको कुराकानीको सम्पादित अंश :
पहिलो कार्यकालको सफलतापछि दोश्रो कार्यकाल सुरु गर्नुभएको छ । तपाईले दोश्रो कार्यकालको सुरुवातमै ‘भित्र सिस्टम, बाहिर इमेज’को नारालाई प्राथमिकता दिनुभएको देखियो । यसको अर्थ के हो ? आउँदा दिनमा बैंक कस्तो बन्छ ?
-मैले पहिलो कार्यकालमा बनाएको रणनीतिकै निरन्तरता हो ‘भित्र सिस्टम, बाहिर इमेज’को नारा । बाहिरका स्टेकहोल्डरलाई इमेजको पाटोले बाँध्छ । भित्रलाई सिस्टमले बाँध्छ । कस्टूमरले राम्रो सर्भिसको अपेक्षा गरेका हुन्छन्, नियामकले सुशासनको कुरा हेरेको हुन्छ । राम्रो सर्भिस दिएपछि राम्रो इमेज बन्छ । यी सबै कुरालाई संक्षेपीकरण गरी हामीले ‘भित्र सिस्टम, बाहिर इमेज’को स्लोगन बनाएका हौं ।
हामी अझ परिस्कृत हुन खोज्दैछौं । हलुका ढंगले भन्दा पनि अब गुणस्तरीय काम गरेर अगाडि बढ्ने हाम्रो सोंच तथा योजना हो । रेगुलेटरले खोजेको परिधिभित्र बसेर काम गरौं, सिस्टम चाहिँ इन्ट्याक्ट राखौं, भित्रका आफ्ना अंगहरु मजबुत बनाऔं, आँत बलियो राखौं भन्ने कुरा हो । तर बाहिरी इमेज पनि आकर्षक हुनुपर्छ । हाम्रा कर्मचारीहरुको बोलीवचन मीठो होस् भन्ने पनि यसको अर्को अन्तर्य हो ।
मेरो दोश्रो कार्यकालको वर्किङ डेको हिसाबले आज(२०७९ चैत १९ गते आइतबार) पहिलो दिन हो । अबको हाम्रो बाटो क्लियर छ । अबको युग डिजीटलाइजेसनको हो । हिजोमात्र हामीले विराटनगर, वीरगञ्ज र लुम्बिनीको हस्पिटल लाइन तथा काठमाण्डौभित्र कलङ्की र नयाँबजारमा क्यूएस मेसिनहरु राख्यौं । हिजै ५ वटा एटीएम पनि थप्यौं । हामी ब्राञ्च पनि ५ वटा थप्दैछौं, अब हाम्रा शाखा १८७ पुग्दैछन् । हाम्रो शाखा सञ्जाल ५५ वटा जिल्लामा पुगिसकेको छ ।
डिजीटलाइजेसनको प्लेटफर्ममा पनि हामीले धेरै काम गरेका छौं । म सीइओ हुँदैगर्दा ८९ हजारमा सीमित मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या अहिले बढेर साढे ६ लाख पुगिसकेको छ । हाम्रो मोवाइल बैंकिङको एप्स तथा कार्डको गुणस्तर अत्यन्त राम्रो छ भनेर बजारबाट फिडब्याक पाएका छौं । हाम्रा डिजीटल प्लेटफर्महरुमा धेरै सुविधाहरु पनि छन् ।
र, हामी अब कागजविहीन बैंकिङको थिममा अगाडि बढेका छौं । अबको दिनमा बैंकिङलाई सहज बनाउनुपर्छ । शाखा मात्र खोलेर, शाखारहित इकाईहरु मात्र थपेर हुँदैन, अब त बैंकको उपस्थिति डिजीटल माध्यममार्फत गाउँ–गाउँ र कुनाकन्दरासम्म पुग्नुपर्छ ।
अहिले पनि हाम्रो देशको मुख्य समस्यामध्ये एउटा हो वित्तीय पहुँच नहुनु । अझै पनि सबै ठाउँमा बैंकिङ पुगेको छैन । लोन लिने ग्राहकको संंख्या १८ लाख हाराहारी होला, जब कि देशको जनसंख्या ३ करोड हाराहारी पुगिसकेको छ । यो हिसाबले त लोन लिनेहरुको संख्या कम देखियो । फाइनान्सियल एक्सेसको कुरा गरिरहँदा पैसा साच्चिकै चाहिरेको वर्गमा हामी बैंकहरु अझै पुग्नै सकिरहेका छैनौं । आउँदा दिनमा सिटिजन्स बैंकले यो विषयमा पनि ध्यान दिनेछ ।
तपाइँले पहिलो कार्यकालमा बैंकलाई वित्तीय सूचकहरुमा निकै बलियो र प्रतिस्पर्धी बनाउनुभयो । दोश्रो कार्यकालमा फिनटेकको विकास र विस्तारमा केन्द्रीत हुने कुरा गर्नुभयो । तर, बैंकको पूँजी अझै पनि कम छ । यसमा चाहिँ कसरी अगाडि बढ्नुहुन्छ ?
-अहिले पनि हाम्रो बैंकको साइज पुगेको छैन । २० वटा बैंकका बीच तुलना गर्दा ८ वटा मर्जरपछि ठूला भएका रहेछन् । तीसँग हाम्रो प्रतिस्पर्धा हुँदैन । यस्तै, ज्वाइन्ट भेञ्चरका तीनवटा बैंक छन् । सरकारी तीनवटा बैंक छन् । हामीभन्दा माथिका रेञ्जका तीनवटा बैंक छन् । क्यापिटल हाम्रो साइजको, तर विजिनेशको हिसाबले हामीभन्दा २०–२५ अर्बले बढी विजिनेश भएका ३ वटा बैंक छन् भने हाम्रो रेञ्जका ३ वटा बैैंक छन् । हाल अस्तित्वमा रहेका बैंकहरुलाई वर्गीकरण गरेर हेर्दा हामीले आफूलाई कहाँ उभ्याउने र कतिमा खुशी हुने भन्ने विषयमा पनि छलफल हुनुपर्छ । योसँगै २० वटा बैंक नेपालको अर्थतन्त्रका लागि चाहिने संख्या हो वा होइन भन्ने विषयमा पनि छलफल होला नै । त्यसमा हामी सहभागी हुनैपर्छ, बोल्नैपर्छ, बोल्दै जाउला ।
हामीले गत ४ वर्षमा गरेको प्रगति पनि उल्लेख्य नै छ । ५९ अर्बको लोनलाई ४ वर्षमा १६२ अर्ब पुर्याएका छौं । ६५ अर्बको डिपोजिटलाई १६१ अर्ब पुर्याएका छौं । यो अवधिमा हाम्रो बैंकले डिपोजिटमा २६ प्रतिशतले ग्रोथ गरेको छ भने लोनमा २३ प्रतिशत । यो ४ वर्षको अवधिमा हामीले ५१ प्रतिशत लाभांश पनि बाँड्यौं । त्यो भनेको वार्षिक १२.७५ प्रतिशतको औसत हो । बैंकिङ उद्योगको औसत १४.३३ प्रतिशतको हिसाबले हेर्दा हामी २६ वटा बैंक हुँदाको अवस्थामा १५ औं पोजिसनमा पुग्न सफल भयौं भने हाम्रा सेयरधनीमा पनि कन्फिडेन्सको लेभल धेरै माथि आएको पाएका छौं । तर, हामीलाई अझ ठूलो साइज चाहिन्छ । हामीसँग अहिले करिब साढे १५ लाख कस्टूमरहरु हुनुहुन्छ । उहाँहरुलाई नै राम्रोसँग सेवा दिंदा पुग्ने अवस्था अहिले पनि भइसक्यो । अबका दिनमा रिटर्न टू सेयरहोल्डरको हिसाबले हेर्दा पनि १५ प्रतिशतको औसत लक्ष्य राखेर अगाडि बढ्न गाह्रो छैन ।
मेरो सोंच चाहिँ कम्तीमा १५ प्रतिशतको कम्पाउण्डिङ ग्रोथ लिएर अगाडि बढ्नुपर्छ भन्ने हो । यसो गर्न सकियो भने यो चारवर्षको अवधिमा २१ अर्बजतिको क्यापिटल पुर्याउन सकिने रहेछ । अहिले हाम्रो १४ अर्ब २० करोडको क्यापिटल छ । र, डिपोजिटलाई ३ खर्ब जतिको रेञ्जमा र लोनलाई २ खर्ब ७० अर्ब जतिको रेञ्ज राखेर सेयरधनीलाई डबल डिजीटको रिटर्नको लक्ष्यसहित अगाडि बढ्नुपर्छ । तर, डिजीटल बैंकिङ र रिसर्च एण्ड डेभलपमेन्टलाई मजबुत बनाएर फुल्ली कम्प्लाइन्ट भई, स्टाफ र कस्टूमरलाई ह्याप्पी बनाएर अगाडि बढ्ने सोंच छ ।
अबको बैंकिङमा इनोभेसन र नयाँ टेक्नोलोजी भित्र्याएनौं भने पछि परिन्छ भन्ने हामीलाई पूरा ज्ञान छ । त्यसका लागि हामी हाम्रा बैंकिङका सबै प्रक्रियाहरुलाई पेपरलेस बनाउँछौं । सकभर मान्छेसँग भेट नभई वा ग्राहक बैंकमा आउनै नपर्ने अवस्था बनाउने योजनासहित अगाडि बढ्छौं । योसँगै हामी सुरक्षित पनि हुनुपर्छ । ग्राहकलाई समेत हाम्रो बैंकमा डिजीटल कारोबार गर्दा सुरक्षित महसुस हुनुपर्छ ।
हामीले हालै डिजीटल बैंकिङको ठूलो यूनिट पनि गठन गरेका छौं । रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टमेन्ट पनि बनाएका छौं । अबको चार वर्षे कार्यकालमा फिनटेक फ्रेन्ड्ली बैंक बनाउनेछौं भने कस्टूमरलाई ह्याप्पी र सेयरधनीलाई डबल डिजीटको रिटर्न दिने गरी अगाडि बढ्छौं । स्टाफहरु बैंक छाडेर अर्को बैंक नजाने अवस्था बनाउँछु, अफिस आउनेबित्तिकै अरुतिर जागिरका लागि अनलाइन फारम भर्नुपर्ने अवस्था अन्त गर्छु । यो पुगेन वा त्यो पुगेन भन्ने गुनासो राख्न नदिई स्टाफलाई दिनुपर्ने सबै सुविधा दिने गरी कमाउने बाटो पहिल्याउनेछु । अनेक आयामहरु खोजेर बैंकको आम्दानी बढाई यी लक्ष्य पूरा गर्न सकिन्छ ।
उसो भए अब सिटिजन्स बैंक इन्टरनेशनलले पूँजी वृद्धिका लागि मर्जर र एक्वीजिसनको रेश छाड्यो भनेर बुझ्दा हुन्छ ?
-होइन, त्यसरी बुझ्न भएन । हाम्रो क्यापिटल एडूकेसी बिस्तारै टाइट हुँदैछ । अहिले नै १२ को रेञ्जमा छ । अब राइट इस्यू गर्न पाइन्न । अरु कसैलाई अक्वायर गर्दा पनि उनीहरुको पनि क्यापिटल उस्तै टाइट छ । तसर्थ थप विजिनेश गर्नका लागि पनि कमाउनैपर्ने बाध्यता छ । नाफाबाट आएको पैसालाई क्यापिटलमा कन्भर्ट हुने गरी वितरण गर्नुपर्यो । एउटा बाटो त्यो छ । अर्को बाटो चाहिँ : हामीले बण्डहरु इस्यू गर्नुपर्यो ।
मैले भनेको २१ अर्बको क्यापिटल चाहिँ हाम्रै इन्टरनल प्रक्रियाबाट पुर्याउने भन्ने हो । नत्र भने कसरी विजिनेश गर्ने ? मैले भनेको १५ प्रतिशतको कम्पाउण्डिङ ग्रोथ गर्नलाई पनि मलाई क्यापिटल चाहिन्छ । यत्रो टाइट क्यापिटल छ, काउण्टर साइक्लिक बफरको कुरा छ । यस्तो बेलामा मेरो योजनालाई म्याच हुने गरी क्यापिटल प्लान बनाउनुपर्छ ।
अब बाँकी रह्यो मर्जरमा जाने या नजाने भन्ने कुरा । मर्जर गरेका संस्थाहरुले कति इफिसिएन्सी दिनुभयो भन्ने कुरामा पनि रिसर्च हुन आवश्यक छ । कस्तो सिनर्जी आयो भन्ने कुराका सिरियस रिसर्च हुनुपर्छ । यी कुरा नभई हामी मर्ज–मर्ज भनेर दौडिरहेका छौं । मर्जरबाट सोसाइटीलाई के बेनिफिट भएको छ भन्ने कुरा हेरिन आवश्यक छ । दुईवटा सीइओ भएको ठाउँमा एउटा सीइओ भएर ८–१० लाख रुपैयाँ महिनाको खर्च जोगिएर एकदमै बेनिफिट भएको हो कि वा के चिजमा बेनिफिट भयो त ? किनभने शाखाहरु घटेका छैंनन । स्टाफहरु घटाउन पाइन्न । कहाँनिर बढी बेनिफिट भयो ? मान्छेहरुलाई फिल हुने गरी रिसर्च गर्न आवश्यक छ । मलाई लाग्छ : एक–डेढ वर्ष अझै टाइम लाग्ला । मर्जरपछिको परफरमेन्सलाई चेक गरेर यसबाट राम्रै सिनर्जी आएको छ भने बैंकहरुको संख्या अझै घटाए हुन्छ ।
मर्जरका लागि हामी पनि ओपन नै छौं । हामीले पनि अहिलेसम्म ६ वटा बैंक लिएकै हो । नलिएको कहाँ हो र ? अहिले मर्जरको महाकुम्भमेलामा हामी पनि छलफलमा लागेकै हो । हाम्रो पनि दुईचार राउण्ड कुरा भएकै हो । हामी अछुतो छैनौं । अहिले पनि हामीले ज्वाइन्ट भेञ्चरका लागि कुरा गरिरहेकै छौं । अहिले पनि राम्रो विकास बैंक पायौं भने तुरुन्त कुरा अगाडि बढाउन हामीलाई इच्छा छ । हाम्रो बोर्ड ओपन छ । मन र तौरतरिका मिल्यो भने मर्जर हाम्रा लागि बाधक होइन । तर, चाहना सिटिजन्स बैंकको नाम नहराओस् भन्ने छ । हाम्रा प्रमोटरदेखि बोर्ड अफ डाइरेक्टरहरुको पनि त्यस्तै चाहना देख्छु म । मर्जर नगर्ने भनेको होइन । यस्तै, संस्थाको नाम मेटेर मर्जरमा जाने पनि हाम्रो कुनै योजना बन्दैन ।
अहिले कतिपय बैंकरहरु नेपालको बैंकिङ सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको निरश कुरा मात्र गर्छन् । बैंकहरुको आम्दानी घटिरहेको छ। नियामकले पनि यो वा त्यो पोलिसीको नाममा आम्दानीमाथि कैंची लगाइरहेको अवस्था छ । तपाई यस्तो अवस्थामा सगौरव घोषणा गरिरहनुभएको छ कि १५ प्रतिशतको ग्रोथ लिएर विजिनेश गर्छु, पूँजी बढाउँछु । कसरी सम्भव होला ?
-मलाई लाग्छ, आशामै बाँच्ने हो । हामी आशावादी हुनुपर्छ । विभिन्न तौरतरिकाले अहिले अर्थतन्त्रमा विचनल जस्तो छ, केही असजिलो महसुस गरेर मान्छेले त्यस्तै कुरा गरेका होला्न । तर अहिले हाम्रा माइक्रोइकोनोमिक्स इण्डीकेटरहरु त धेरै पोजिटिभ बनिसकेका छन् । हाम्रो फरेक्सको पाटो राम्रै छ । इम्पोर्टलाई लामो समयसम्म रोक्यौं, अहिले खुलिसकेको छ। अन्य मुख्य इण्डिकेटरहरुमा समस्या छैन । अहिले बैंकहरु आफैं धेरै उत्तेजित नभई लेण्डिङमा फोकस नभएको मात्र त हो नि । हाम्रै बैंकको हेर्नुहुन्छ भने ८५–८६ प्रतिशतको सीडी रेसियो छ । कतिपय विजिनेशहरुले साइकल घुमाउन सकेनन् । ऋणिहरुको क्यास साइकल बिग्रिएको अवस्था मात्र हो । अरु त के नै बिग्रिएको छ र ? हाइड्रोहरु शानदार ढंगले चलेकै छन् । सरकारले गर्नुपर्ने खर्चहरु प्रोपर्ली र टाइम्ली भएको छैन, बिस्तारै सुधार होला । यसमा काम भए इकोनोमी आफैं चलायमान हुन्छ ।
विश्व बजारमा युद्धहरु भए । यस्ता थुप्रै चिजका असरहरु हामीले पनि फिल गरेका छौं । फेरि सबैभन्दा ठूलो कुरा कोरोनाको २ वर्ष भोग्यौं । हामीले धेरै सुविधाहरु दिएर संस्थाहरु बचाएकै हो नि । राष्ट्रबैंकलाई चाहिँ त्यसका लागि धन्यवाद दिनैपर्छ । व्यापारिक वर्गलाई धेरै ठूलो राहात दिएको हो नि ! त्यसपछि अलिकति सहज बनेको वातावरणमा एकैपटक धेरै ग्रोथहरु हुँदा त्यो साइकलले प्रोपर काम नगरेको हुनाले केही समस्या देखिएको हो कि जस्तो लाग्छ । तर, बिस्तारै हामी अरु देशको जस्तो विचलित भइहाल्नुपर्ने अवस्था चाहिँ म देख्दिँन । अप्ठ्यारो अवस्था भन्दाभन्दै पनि हाम्रो बैंकिङ उद्योगले ११ प्रतिशतभन्दा माथिको रिटर्न त गरेकै छ । त्यसलाई त ठीकै मान्नुपर्यो नि । बेस प्राइसमा जसले सेयर बजारमा लगानी गर्नुभएको छ, उहाँहरुले १०–१२ प्रतिशतको रिटर्न पाउँदा गुनासो गरिहाल्नुपर्ने अवस्था होइन कि !
तर, कतिपय सेक्टरमा अहिले केही गाह्रो भएको चाहिँ पक्कै हो । बिस्तारै त्यो पनि सहज भएर जान्छ । यो इकोनोमीको एउटा साइकल हो । सधैं पूर्णिमा मात्र कहाँ हुन्छ र, औंशी पनि हुन्छ भन्ने कुरा त स्वीकार्न पर्यो नि । औंशीमै पनि बाँच्न सिक्नुपर्छ । पूर्णिमामा अझै खुशी हुनुपर्छ । आशावादी सोंच राखेर हिँड्नुपर्छ ।
बैंकर(तपाई)हरु राष्ट्रबैंकसँग छलफलमा बस्दा सधैं खराब कर्जाको कुरा गर्ने गर्नुहुन्छ । ‘बैंकहरुको खराब कर्जा अब ह्वात्तै बढ्नेवाला छ, अवस्था निकै सकसपूर्ण हुने अवस्था छ’ भनेर पनि कतिपयले किटान गरिरहेका छन् । अवस्था के हो ? यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?
-खराब कर्जा बढेरै गइरहेको छ । प्रत्येक त्रैमासको रिपोर्ट हेर्दा पनि त्यो ट्रेण्ड देखिन्छ । हाम्रा छरछिमेकका अर्थतन्त्रमा खराब कर्जाको भोल्युम हामीकहाँभन्दा ठूलो देखिन्छ । हामीमा खराब कर्जा छन्, तर आजको दिनसम्म हेर्दा व्यापारीहरुको आन्दोलनले गर्दा तिर्नै नसकेको, अवस्था एकदमै भयावह पो भएको हो कि भन्ने एक किसिमको त्रासको वातावरणको म्यासेज गएको मात्र हो । बरु हाम्रो प्रोफिट्याबिलटीमा गम्भीर असर पर्नेवाला छ। राष्ट्रबैंकले जनतालाई बेनिफिट दिनका लागि बैंकहरुले जनताबाट लिने फी इनकमहरुमध्ये धेरै ठाउँमा रेष्ट्रिक्सन गरिदिएको छ । स्प्रेडको पाटोमा हामी ४ प्रतिशतमा झर्दैछौं । यसकारण बैंकहरुको प्रोफिट्याबिलीटीमा यसले हान्दैछ । धेरै ठूलो भोल्युममा बैंकहरुको नाफा घटिरहेको छ, घट्नेवाला छ ।
एनपिएल बढ्ने सम्भावना वा कारण अर्को पनि छ । यो ९ महिनालाई हेर्नुभयो भने डिपोजिट २०० अर्बले बढेको छ । लोन जम्मा १०० अर्बले बढेको छ । गत वर्ष लोन धेरै बढेको थियो, डिपोजिटको पाटोमा सकस थियो । हामी एकदम लिक्वीडिटी टाइटमा थियौं । लिक्वीडिटी बढी भएको बेलामा लोनहरु फ्लो हुँदा एनपीएलको पाटो केही म्यानेज हुँदोरहेछ । जब तपाई लोन कम दिनुहुन्छ, लोनको फ्लो कम भयो । लुब्रिकेन्ट भएन, अलिक बढी घुमेन, यसका कारण पनि एनपीएल अलिकति बढ्छ कि भन्ने हो । तर एनपीएल अलिकति बढ्दैमा अत्तालिइहाल्नुपर्ने अवस्था हुँदैन ।
हाम्रो करिब ७० प्रतिशत लगानी धितो(सुरक्षण)मा आधारित छ । हामीले ठूलो लगानी ठूलो प्रोजेक्टमा गरेको र त्यो प्रोजेक्ट नै फेल भएको अवस्था पक्कै होइन । साना–साना लोनहरु दिएका छौं । अकिलति महङ्गीका कारण, अलिकति बैंकको ब्याजदर बढेका कारण र अर्को रेगुलर इनकम घटेका कारण मात्र केही सकस भएको होला । अहिलेको अवस्था भनेको इएमआईको भोल्युम बिग्रिदाको परिणाम त हो नि । बजारमा गएको सामान क्यासमा कन्भर्ट नभएको त हो नि, इस्यू यत्ति नै त हो नि । पैसा उठ्ने टाइमिङ केही डिफर भएको मात्र हो, यसमा अत्तालिइहाल्नुपर्ने अवस्था होइन । कोही डराउनुपर्दैन । सानो भोल्युममा एनपीएल देखिरहेको बानी परेका हामीलाई अहिले बढ्दा थोरै बढी पीर मात्र परेको हो । इकोनोमीको साइज ठूलो भइसक्यो । बैंककै लोनको साइज पनि ५० खर्बको भइसक्यो । यस्तो बेलामा एनपीएलको साइज केही बढ्नु अनौठो होइन ।
पछिल्लो समय केन्द्रीय बैंकबाट बैंकहरुभन्दा बरोअर फ्रेण्ड्ली वातावरण नै बनाइएको जस्तो लाग्छ । किनभने रिबेट दिने काम हामीले नै गर्यौं । क्याप लगाउँदा त्यसको फाइदा पनि बरोअरलाई हुन्छ । लाखौं मानिसले बैंकहरुमा लगानी गरेका छन् । हाम्रै बैंकमा २ लाख मानिसको सेयर छ । उहाँहरुले पनि यहाँको आम्दानीबाट आश गर्नुहुन्छ नि । यो पनि त एउटा लगानीको सेक्टर हो। यसलाई बेवास्ता गर्नुभएन । ठूलो लगानी भएको क्षेत्र यो हो भनेर बुझ्न आवश्यक छ । यसको साइज यति धेरै ठूलो छ, यसलाई खुराक पनि ठूलै चाहिन्छ । त्यसले गर्दा म चाहिँँ आशावादी छु, निराश हुनुपर्ने अवस्था देख्दिँन ।
फेरि हाम्रो अर्थतन्त्र विशेष खालको छ । आज पनि हामी एकहिसाबले आइसोलेसनमै छौं । विश्वमा कहीँ चेञ्ज हुनेबित्तिकै हामीलाई त्यसले हानिहाल्छ भन्ने हुन्न । केही पछाडि हान्ला, तर इमिडिएट्ली हान्छ जस्तो लाग्दैन मलाई । सजग भएर अगाडि बढ्यौं भने हामीसँग सुध्रिने टाइम छ । तर, मितव्ययी हुनुपर्यो, उत्ताउलो हुन भएन । चम्किएर बढ्नु भएन । ओभर फाइनान्सिङ हुनुभएन । यस्ता कुरामा बैंकरहरुले ध्यान दिनुपर्छ । जनताको पैसा चलाउने मान्छे सम्वेदनशील बन्नुपर्छ । एउटा एरियामा नेशनलाई पुग्ने प्रोजेक्टहरु छन् भने फेरि त्यही एरियालाई फोकस गरिदिनुभएन । धेरै कुराहरु छन्, जहाँ हामी सम्हालियौं भने अर्थतन्त्र सम्हालिन्छ । ४३ खर्ब जीडीपी भएको इकोनोमी ठूलो इकोनोमी पनि होइन ।
पछिल्लो समय ब्याजदरको इस्यू निकै पेचिलो बनिरहेको छ । ब्याजदर घट्ने सम्भावना छ कि छैन ? छ भने बैशाखदेखि घट्छ ? कतिसम्म घट्ला ?
-पछिल्लो समय लोनहरु बढिरहेको छैन । बढ्ने अवस्था पनि देखिन्न । फोर्थ क्वार्टरमा बैंकहरु नर्मली कन्सोलिडेसनमा जान्छन, धेरै ग्रोथ गर्दैनन् । अब रेट गिरेको छ । एफडीमा ११ प्रतिशतको रेट आएको छ । बैशाखदेखि त्यसको असर देखिन्छ नै । स्प्रेड पनि चैतबाट ४.२ प्रतिशत गराउने भनिएको छ । एकातिर ब्याजदर घट्ने र अर्कोतर्फ स्प्रेडदर घट्ने पाटो पनि छ । यसको पाटो पनि भएको हुनाले मान्छेलाई महसुस हुने गरी बैशाखदेखि ब्याजदर गिर्ने संकेतहरु देखिन्छ । जसका कारण सेयर बजारजस्ता विभिन्न सेक्टरलाई उत्साहित बनाउने अवस्था बन्छ जस्तो लाग्छ । उत्साहको वातावरण आउँछ जस्तो लाग्छ नयाँ वर्षदेखि । नयाँ वर्ष सकारात्मक संकेत लिएर आउँछ जस्तो लाग्छ । करिब ०.६ देखि अधिकतम १ प्रतिशत बिन्दुसम्म ब्याजदर घट्नसक्छ । त्यो घट्ने ट्रेण्ड देखिइरहेको छ । ग्रोथ भएन र लोनहरु यस्तै रहिरह्यो भने पैसा त आइरहन्छ, रेमिटान्सको पैसा पनि आइरहन्छ । लिक्वीडिटी सहज हुँदै गयो भने त्यसले ब्याजदर घटाउन अत्यन्त सहयोग गर्छ । त्यसैले पनि म आशावादी छु । निराश हुनुपर्ने अवस्था नै देख्दिँन म । बैशाख कुरौं, धेरै कुरा परिवर्तन हुनेवाला छ ।
तर, बैंकको आम्दानी चाहिँ राम्रै घट्ने देख्छु । सबै बैंकको अवस्था हेर्दा डबल डिजीटसम्मको रिटर्न आयो भने निराश बनिहाल्नुहुँदैन । तर पहिलाको जस्तो २०–२५ प्रतिशतको रिटर्न चाहिँ अब बैंकहरुबाट सम्भव देखिन्न ।
सबै सेक्टरहरु विन–विनको सिचुएसनमा होलाजस्तो लाग्छ । म धेरै आशावादी छु । आशाकै किरण छरेर मैले रणनीतिक योजना बनाएको छु । गर्न सकिन्छ भनेर सोंच राखेर अगाडि बढ्ने हो । बैंकिङ सेक्टर जस्तोसुकै अवस्थामा चाहिने क्षेत्र हो । यसको भविष्य अत्यन्त सुन्दर छ । पहिला पहिला रेगुलेसन पनि थिएन, जसका कारण बैंकको सेयरमा लगानी गर्नेले पनि राम्रै कमाए । तर, अब त्यस्तो कमाई बैंकबाट हुन्न । हामी पनि सजग भएर काम गर्नुपर्छ । यो सेक्टर सेवामुखी क्षेत्र पनि हो । राज्यको नीति नियम लागू गरिदिने सेक्टर पनि हो । प्राथमिकताप्राप्त कर्जा लगायतदेखि धेरै सेक्टरलाई प्राथमिकतामा राखेर तोकिएको छ, यसमा पनि बैंकहरुको भूमिका हुन्छ । बैंकमा लगानी गर्नेले राज्यलाई योगदान गरिरहेको ठान्नुपर्छ । नेपालका बैंक सुरक्षित छन् । ३०–४० हजार मानिसले रोजगारी पाएका छन् । विदेश जाने ठूलो संख्यालाई बैंकहरुले रोकेको छ । मलाई लाग्छ, आजको दिनमा बैंक नै भरोसा गर्न लायक क्षेत्र हो ।