काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८६ प्रतिशत अर्थात २२.७३ अंकले घटेर २ हजार ६१०.२१ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले घटेर ४६३.०७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यससँगै ६ कारोबार दिनमा नेप्से परिसूचक २२० अंकले घटेको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष बजार जानकार छोटेलाल रौनियार भन्छन्, ‘बजारमा धेरै नकारात्मक विषय फैलिएका कारण बजार निरन्तर घटिरहेको छ । बजारमा नाफा बुक र स्टपलस दुवै एकैपटक हुन पुग्दा बजारमा दबाब आएको छ । अहिले राजनीतिक,आर्थिक र नीतिगत रुपमा कुनै पनि परिवर्तन भएकाले लगानीकर्ता डराउनु पर्ने आवश्यकता छैन ।’
प्रधानमनत्रीलाई भारतले सहयोग नगरेको भन्दै बजार घटाउने प्रपञ्च रचिएको रौनियारले दाबी गरे ।
अर्का बजार जानकार यज्ञ घिमिरेले ३ हजार विन्दुमा सेयर बेचेर बसेकाहरु पर्ख र हेरको अवस्थामा रहँदा बजार घटेको बताए ।‘चाडपर्व नजिकिएका कारण लगानीकर्ताले पैसाको जोहो गरेका कारण बजार घटेको हुन सक्छ ।’
रौनियार जस्तै घिमिरेले पनि नकारात्मक खबरका कारण बजार घटेकोमा सहमति जनाए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज वित्त समूह सबैभन्दा धेरै अर्थात ०.४३ प्रतिशतले बढ्यो । यस्तै निर्जीवन बीमा समूह ०.०२ प्रतिशत र व्यापार समूह ०.१६ प्रतिशतले बढ्यो ।
आज जीवन बीमा समूह सर्वाधिक घट्यो । यो समूह आज १.८७ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.९३ प्रतिशत,विकास बैंक १.०२,होटल ०.६०,हाईड्रो ०.९२,लगानी १.१९,उत्पादन तथा प्रशोधन १.०१,लघुवित्त ०.५४, म्युचुअल फण्ड ०.४३ र अन्य समूह ०.६१ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३४ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।
एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख बढीको कारोबार भएको आज ग्रिनलाइफ हाईड्रोको १९ करोड २७ लाख,समृद्धि फाइनान्सको १८ करोड १६ लाख र एचआईडीसीइलपीको १५ करोड २५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त र थ्रि स्टार हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
समाज लघुवित्तको सेयरमूल्य ६.८१ प्रतिशत,कालिका लघुवित्तको ६.६६,आत्मनिर्भर लघुवित्तको ६.०४,सिईडिबि हाईड्रोको ५.८२ र माईखोला हाईड्रोको सेयरमूल्य ५ प्रतिशतले बढ्यो ।
यो दिन एशियन हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.८८ प्रतिशतले घट्यो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२६ प्रतिशत,एलआईसी नेपालको ४.८१ र मनकामना इन्जिनियरिङको सेयरमूल्य ४.६७ प्रतिशतले घट्यो ।