काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सीसायुक्त पेट्रोलको प्रयोगमा प्रतिबन्ध लगाएर विश्वकै अग्रणी देश बनेको बताएका छन् । युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उक्त अवसरमा उनले सीसाको असरबाट बालबालिका, गर्भवती महिला, र अन्य संवेदनशील समूहहरूलाई जोगाउन यसबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको समेत बताए ।
प्रधानमन्त्रीले २०१४ मा नेपालले ‘राष्ट्रिय सीसा रंग मापदण्ड’ लागू गरी सीसायुक्त रंगको प्रयोगलाई रोक्ने महत्त्वपूर्ण कदम चालेको र २०२३ मा खाद्य पदार्थ, मदिरा पेय पदार्थ, र पानी आपूर्तिमा सीसाजन्य र अन्य भारी धातुहरूको प्रयोगलाई सीमित गर्ने कडा नियम लागू गरेको जानकारी गराए।
उनले सन् २०२४ मा नेपालले खाद्य सुरक्षा विधेयक पारित गरेर सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि नियामक संरचनालाई थप सुदृढ बनाएको पनि उल्लेख गरे ।
प्रधानमन्त्रीले विभिन्न अध्ययनहरूमा सीसाको असरले विश्वव्यापी उत्पादकत्वमा वार्षिक करिब १.४ ट्रिलियन डलरको नोक्सानी हुने तथ्य उल्लेख गर्दै, सीसाको विषाक्तता रोक्न ठोस कदम नचालिए यसको दीर्घकालीन जोखिम झनै महँगो हुने चेतावनी पनि दिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                