काठमाण्डौ । लाभांश सिजन सुरु भएलगत्तै नेप्सेम सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट आ–आफ्ना सेयरधनीहरुलाई प्रतिफल बाँड्न वा प्रस्ताव गर्न सुरु गरेका छन् ।
सूचीकृत कम्पनीहरुमध्ये तुलनात्मक रुपमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले वर्षेनी लगानीकर्ताहरुलाई लाभांश बाँडेका हुन्छन् । लाभांश सिजन सुरु भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्न थालेका छन् । सूचीकृत अन्य समूहहरु होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी र उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुको तुलनामा बैंकहरुले वर्षेनी केही प्रतिशत भएपनि लाभांश बाँडेका छन् ।
यसर्थमा बजारमा वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्दा जोखिम कम हुने र थोरै भएपनि लाभांश पाउने निश्चित हुने लगानीकर्ताहरु बताउँछन् । हालसम्म ७ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् भने अझै १२ वटा बैंकको लाभांश प्रस्ताव हुन बाँँकी नै छ ।
लाभांश घोषणा गरिसकेका बैंकहरुले लाभांश क्षमताअनुसारकै लाभांश आ–आफ्ना सेयरधनीलाई प्रस्ताव गरेका छन् । हालसम्म एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक र ग्लोबल आइएमई बैंकले मात्रै लाभांश प्रस्ताव गरेका छन् ।
अधिकांश बैंकहरुले गत आवको मुनाफाबाट छुट्याएको वितरणयोग्य मुनाफा क्षमताकै आधारमा लाभांश प्रस्ताव गरेका छन् । उत्कृष्ट लाभांश क्षमता भएको एभरेष्ट बैंक र नबिल बैंकले भने क्षमता भइकन पनि लाभांशदर घटाएका छन् । एभरेष्टको लाभांश क्षमता २९.८६ प्रतिशत भएपनि बैंकले जम्मा १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने नबिल बैंकको लाभांश क्षमता १४.२६ प्रतिशत भएपनि बैंकले जम्मा १० प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।
यता सानिमा बैंकले पनि १०.४ प्रतिशत लाभांश बाँड्ने क्षमता राखेपनि गत आवको मुनाफाबाट जम्मा ५.२६ प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेको छ ।
साथै ग्लोबल आइएमई बैंकले भने लाभांश क्षमता जम्मा ३.०६ प्रतिशत भएपनि लगानीकर्ताका लागि ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । साथै प्राइम, सिटिजन्स र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने क्षमताअनुसारकै लाभांश घोषणा गरेका छन् ।
१२ वटा बैंकको लाभांश घोषणा हुन बाँकी
अझैपनि १२ वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी नै छ । तर सो मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआइसी एशिया बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । यसकारण यी चारवटा बैंकले यसवर्ष आफ्ना सेयरधनीहरुको हात रित्तो बनाउन सक्नेछ ।
साथै लाभांश घोषणा बाँकी हुनेमा कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंक रहेको छ । यी बैंकहरुले पनि लाभांश क्षमताअनुसारकै लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
अघिल्लो आर्थिक वर्षको लाभांश इतिहास हेर्दा उक्त बैंकहरुले लाभांश क्षमता अनुसारकै लाभांश बाँडेका थिए । सोही आधारमा हेर्दा हालसम्म लाभांश प्रस्ताव गरेका बैंकहरुले पनि वितरणयोग्य मुनाफा जति छुट्याएको छ सोही बराबरको हाराहारीमा नै लाभांश प्रस्ताव गरेका छन् ।
बैंकहरुको गत आवको वित्तीय विवरणअनुसार कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत, नेपाल एसबिआईको १०.७६ प्रतिशत, लक्ष्मी सनराइजको ५.५५ प्रतिशत, नेपाल बैंकको ५.२४ प्रतिशत, प्रभु बैंकको ५.२ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.०१ प्रतिशत, सिद्धार्थ बैंकको २.६ प्रतिशत र एनएमबि बैंकको १.३ प्रतिशत रहेको छ ।
