काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहको सेयर स्वामित्व ६१.११ प्रतिशत र सर्वसाधारण समूहको ३८.८९ प्रतिशत कायम हुनेगरी सेयर संरचना परिवर्तन गर्न लागेको हो ।
यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६९.६५ प्रतिशत र सर्वसाधारण समूहको ३०.३५ प्रतिशत कायम थियो । साविकको सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त एक आपसमा मर्ज भई बनेको एकिकृत संस्थाको कुल चुक्तापूँजीको ८.५४ प्रतिशत विन्दुले सेयर संरचना परिवर्त हुन लागेको संस्थाले जनाएको छ ।
यसर्थ साविक सामुदायिक लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनिहरुले मात्र आफ्नो सेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा जानकारीको लागि सूचना प्रकाशित गरिएको संस्थाले उल्लेख गरेको छ। साथै, साविक सामुदायिक लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयर सर्वसाधारण समुहमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सामुदायिक लघुवित्त वित्तीयको केन्द्रीय कार्यालय बनेपा–१४, साँगा, काभ्रेपलाञ्चोकमा सम्पर्क राखी लिखित रुपमा निवेदन दिन वा वित्तीय संस्थाको ईमेल ठेगानमा निवेदन पठाउनु संस्थाले आग्रह गरेको छ ।
उक्त म्यादभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिने संस्थापक सेयरधनीहरूको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समुहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समुहमा परिवर्तन गर्ने तर्फ प्रक्रिया अगाडी बढाइने सूचनामा उल्लेख गरिएको छ ।