काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सामान्य सुधार आएको छ । कम्पनीको खुद नाफा ५.४४ प्रतिशतले बढ्दै २३ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ३ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको कुल खर्च ३ अर्ब १८ करोडबाट बढेर ३ अर्ब ८८ करोड पुगेको छ ।
यस्तै कम्पनीको महाविपत्ती कोषको आकार १३ करोड ४३ लाख र रिटेन्ड अर्निङको ५० करोड ८४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७९.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.४७ गुणा कायम भएको छ ।