काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म २४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको तुलनामा ६८९.२३ प्रतिशतले बढी हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले बिक्रीमार्फत ३ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.९४ प्रतिशतले बढी हो । कम्पनीले ७ करोड १८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिमा कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवमा ४२ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ४१ करोड ७६ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९७ करोड र कुल चालु दायित्व ४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.७० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९५.२० रुपैयाँ र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ ।