काठमाण्डौ । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगतार ३ वर्षसम्म प्रथम भएको छ ।
महानगरका उप–निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८२/८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान –कार्य सम्पादनमा आधारित अनुदान वृद्धि भएर जानेछ ।
आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्दा महानगरपालिका अगाडि आएको हो । ती सूचकहरु मध्ये पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।
समय सीमा अर्थात् भित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएको लगायतका आधारमा अनलाइन पोर्टल बाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।
आयोगले दिएको जानकारीअनुसार भरतपुर महानगरले ७६.२ प्रतिशत, विराटनगर महानगरले ७३.५ प्रतिशत, ललितपुर महानगरले ६६.७ प्रतिशत, काठमाण्डौ महानगरले ५४.३ प्रतिशत, पोखरा महानगरले ५१.५ प्रतिशत र वीरगञ्ज महानगरले ४३.१ प्रतिशत अकं प्राप्त गरेका छन् ।
चितवन जिल्लाका सात पालिकाहरूमध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ । महानगरले ७६.२९ प्रतिशत अङ्क पाउँदा ईच्छाकामना गाँउपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७०.१ प्रतिशत, माडी नगरपालिकाले ६९=१ प्रतिशत, खैरहनी नगरपालिकाले ६६.८ प्रतिशत, कालिका नगरपालिकाले ६४ दशमलव ३ प्रतिशत र राप्तीले ४३.३ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका ७५३ पालिका मध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फर्यौटलगायतका विषयमा सधैँ उत्कृष्ट बन्दै आइरहेको दाबी गर्नुभयो । उहाँले महानगरलाई उत्कृष्ट साबित गर्न खटिनुहुने जनप्रतिनिधि एवं कर्मचारी परिवारलाई धन्यवाद दिँदै उहाँले आम महानगरवासीको लागि यो गौरवको विषय भएको बताउनुभयो ।