काठमाण्डौ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको हो ।
नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका अनुसार पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रुपमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको छ ।
पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा ४ हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको छ ।
सोही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो ।
यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ ।