काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले आव २०७९÷८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको १८.३८११ प्रतिशत बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो । उक्त बोनस सेयर गत असोज २३ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभाबाट पारित भएको थियो ।
साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नामबाट २०७९ चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो ।
यसर्थ आयकर ऐन, २०५६ को दफा ४७ (क) को उपदफा ५ मा भएको व्यवस्था अनुसार गाभिएको मितिमा कायम रहेका सेयरधनीहरुलाई गाभिएको मितिबाट दुई वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको तर एकिकृत कारोबार मिति पश्चात भएको सेयर कारोबारबाट प्राप्त सेयरको बोनस सेयरमा लाभांश कर लाग्ने हुँदा उक्त बोनस सेयरको ५ प्रतिशत कर बापतको रकम बुझाउन कम्पनीले आग्रह गरेको छ ।
केही सेयरधनीहरुले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गरिसकेको र विविध कारणले हालसम्म खातामा जम्मा नभएको भएमा सो सम्बन्धी जानकारी प्राप्त गर्नका लागि कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटलमा सम्पर्क गर्न वा कम्पनी र सेयर रजिष्ट्रारको वेबसाइटबाट हेर्न सकिने कम्पनीले जनाएको छ ।
रकम जम्मा भए पश्चात मात्र उक्त बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएइको छ ।