काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले देशमा लोडसेडिङ्ग नभएको जनाएको छ । प्राधिकरणले एक प्रेस विज्ञप्ती जारी गर्दै लोडसेडिङ्ग भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भईरहेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मन्सुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ्ग भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ’, विज्ञप्तीमा भनिएको छ,‘प्रतिकूल मौसमका कारण अवरुद्ध भएको विद्युत सेवा पुनः सुचारु गर्न देशभरका वितरण केन्द्रबाट दिन रात निरन्तर काम भई अधिकांश स्थानमा यथाशिघ्र विद्युत आपूर्ति सुचारु गरिएको व्यहोरा जानकारी गराउँदछौं । यति हुँदाहुँदै पनि विद्युत सेवा अवरुद्ध हुन गई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ ।’
अवरुद्ध भएको विद्युत यथासम्भव छिटो सुचारु गर्न प्राधिकरणको तर्फबाट भएको प्रयासमा सहकार्य गरिदिन प्राधिकरणले आग्रह गरेको छ । यस्तो अवस्थामा विद्युतीय संरचनाहरुमा क्षति पुग्न गई (पोल ढल्ने, तार लत्रिने आदि० जनधनको समेत क्षति हुन सक्ने अवस्थाबाट सुरक्षित रहन र विद्युतीय संरचनामा क्षति पुगेको पाइएमा नेपाल विद्युत प्राधिकरणका सम्बन्धित कार्यालय वा प्राधिकरणको हट लाइन नम्वर ११५० मा यथाशिघ्र जानकारी गराउनुहुन समेत आग्रह गरिएको छ ।