काठमाण्डौ । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा बिहीबारदेखि ई–कमर्श तालिम सुरु भएको छ ।
जिल्लामा महिला उद्यमीहरुका लागि सञ्चालित ई–कमर्श तालिमको उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकी उद्योग सचिव बिनु बज्राचार्यले ई कमर्श तालिम महिला उद्यमीहरुको व्यापार व्यवसाय प्रवद्र्धनको लागि उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरिन् । उनले तालिममा सिकेका ज्ञानलाई आफ्नो व्यापार व्यवसायको विकासमा सदुपयोग गर्न आग्रह गरिन् ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयको आ.व. २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत उद्यम गरिरहेका र भविष्यमा उद्यम गर्न चाहने महिलाहरुको लागि ई कमर्श तालिम आयोजना गरिएको बताए । भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले ई कमर्श तालिमबाट सिकेका ज्ञान र सिपलाई तालिममा मात्र सीमित नगरी व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनले अहिलेको प्रविधिको जमानामा प्रविधिको अधिकतम उपयोग गरेर आफ्नो उद्यम, व्यवसायलाई विकास र प्रवद्र्धन गर्नको लागि ई कमर्श तालिम महत्वपूर्ण हुने बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको साना तथा मझौता उद्योग समितिकी सभापति लक्ष्मी खनालले तालिम महिला उद्यमीहरुको लागि प्रभावकारी हुने भन्दै तालिमबाट आफ्नो व्यापार व्यवसाय प्रवद्र्धनका लागि आवश्यक ज्ञान प्राप्त गरी भरपूर फाइदा उठाउन आग्रह गरिन् । भक्तपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष विश्वराम दुवाल, कार्यसमिति सदस्य एवं तालिम तथा सिप विकास उपसमिति संयोजक पृथ्वीभक्त प्रजापतिले तालिमबाट महिला उद्यमीहरुलाई प्रविधिसम्बन्धी व्यवसायिक दक्षता एवं क्षमता वृद्धिको लागि सहयोग पुग्ने बताए ।
तालिममा प्रशिक्षकको रुपमा सौरभ चालिसे र रोहण पौडेल रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।