काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको प्रतिवेदनअनुसार कम्पनीको नाफामा ३९९ प्रतिशतको उछाल आएको छ ।
कम्पनीले समीक्षा अवधिसम्म ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ कशरोड ७ लाख खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको बिक्री आम्दानी समेत ४९.४० प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत ६ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ४ अर्ब ५५ करोडमा सीमित थियो ।
कम्पनीको अन्य आम्दानी समेत बढेको छ । अघिल्लो आवमा ३ करोड ८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले चालु आवमा भने १२ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको खर्च भने बढेको छ । कम्पनीको कुल खर्च ५२ करोड २८ लाखबाट बढेर ६८ करोड २ लाख पुगेको छ ।
४ अर्ब ९७ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ११ करोड र कुल चालु दायित्व ४ अर्ब ५८ करोड रहेको छ ।
यस्तै कम्पनीले यो अवधिसम्म ३ अर्ब ७५ करोड अल्पकालिन र ११ करोड २ लाख दीर्घकालिन कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १६.१६ रुपैया, प्रतिसेयर नेटवर्थ १९३.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२७.१७ रुपैयाँ र तरलता अनुपात १.१२ प्रतिशत कायम भएको छ ।