काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरू र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाकबीच काठमाण्डौमा जेठ ११ गते एक महत्त्वपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ। उक्त छलफलमा पूँजी बजारलाई थप समृद्ध, पारदर्शी, सुव्यवस्थित, र लगानीकर्तामैत्री बनाउन विभिन्न विषयमा गहन संवाद भएको छ।
संघको औपचारिक पत्र हस्तान्तरणः
छलफलको क्रममा नेपाल सेयर बजार लगानीकर्ता संघकी पदाधिकारी सदस्य मीना भट्टले संघको औपचारिक पत्र सिडिएससीका प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाकलाई हस्तान्तरण गरिन्। उक्त पत्रमार्फत संघको स्थापना, उद्देश्य, र भावी दायित्वबारे जानकारी गराइएको थियो।
लगानीकर्ताका समस्याहरूमा जोडः
संघका पदाधिकारी सुदर्शन गौतमले लगानीकर्ताहरूले भोगिरहेका समस्याहरू उजागर गरे। उनले डिम्याट खाता अपडेटमा ढिलाइ, डिपी शुल्क, अनलाइन सुविधा, र बजारको पारदर्शितासँग सम्बन्धित मुद्दाहरू उठाएका थिए ।
संघका संस्थापक महासचिव रविन कँडेलले तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन अध्ययनमार्फत निरूपण गर्नुपर्ने विषयहरू विस्तृत रूपमा प्रस्तुत गरे। उनले सिडिएससीले हालसम्म गरेका प्रगति र आगामी योजनाहरूबारे संवादको थालनी गरे उक्त छलफलमा डिम्याट र टीएमएस सिन्क्रोनाइजेसन, स्वचालित ईडीआईएस अनलाइन बिल सुविधा, र डिपी शुल्क पुनरावलोकन जस्ता विषयहरूमा विशेष ध्यानआकर्षण गराइएको थियो।
सिडिएससीका प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाक नेपाल सेयर बजार लगानीकर्ता संघको स्थापना र लगानीकर्ताको हितमा सक्रियताप्रति बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले सिडिएससीले पूँजी बजारलाई स्वतस्फूर्त, प्रविधिमैत्री, र लगानीकर्तामैत्री बनाउन निरन्तर प्रयास गरिरहेको बताइन्। साथै, बजारको समृद्धि र पारदर्शिताका लागि सिडिएससीको सकारात्मक भूमिका रहने प्रतिबद्धता व्यक्त गरिन् ।
छलफलमा सहभागी सबैले सिडिएससीको सकारात्मक पहलले पूँजी बजारलाई समृद्ध, पारदर्शी, र लगानीकर्तामैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने कुरामा जोड दिएका थिए । करिब एक घण्टा चलेको उक्त बैठकमा विभिन्न विषयमा रचनात्मक संवादको थालनी भएको छ।
भेटघाटमा सीडीएससीकी प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाक , हेड अफ डीमेटरियालाइजेशन एण्ड डिपोजिटोरी , रिसर्च एण्ड इनोभेसन डिभिजनकी कञ्चन सापकोटा नेपाल सेयर बजार लगानीकर्ता संघका तर्फबाट संस्थापक महासचिव रविन कँडेल, सचिव भुवन ढकाल, प्रवक्ता धनजय पौडेल, पदाधिकारी सदस्य मीना भट्ट, विवेक श्रेष्ठ र सुदर्शन गौतमको सहभागिता रहेको थियो।
नेपाल सेयर बजार लगानीकर्ता संघले पूँजी बजारको समृद्धि र लगानीकर्ताको हितका लागि औपचारिक रूपमा कार्य प्रारम्भ गरेकोमा सम्पूर्ण टिमलाई बधाई दिँदै सिडिएससीसँगको यो संवादलाई निरन्तरता दिइने बताइएको छ। यो छलफलले नेपालको पूँजी बजारमा पारदर्शिता, दक्षता, र लगानीकर्ता विश्वास वृद्धिका लागि महत्त्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।