काठमाण्डौ । टाटा मोटर्सले ठूलो घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक लगानी दिवस २०२५ को अवसरमा आफ्नो विस्तार योजना र भिजनको बारे उल्लेख गर्दै सन् २०३० सम्म ठूलो लगानी गर्ने घोषणा गरेको हो । यस्तै कम्पनीले आगामी ५ वर्षमा कुल ३० वटा नयाँ मोडल ल्याउने बताएको छ ।
जसमा ७ वटा ब्राण्ड नयाँ कारका साथै २३ वटा अपडेटेड र फेसलिफ्टेड मोडल रहेका छन् । जसलाई ग्राहकहरुका लागि विद्यमान कारहरु भन्दा राम्रो स्वरुपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । सिएरा यसै वर्ष नै लन्च गर्न सकिनेछ भने अविनाको प्रोडक्सन रेडी मोडल पनि आगामी वर्षहरुमा देख्न सकिने जनाइएको छ ।
टाटा मोटर्सले आफ्ना ग्राहकहरूलाई विभिन्न सेग्मेन्टमा १५ भन्दा बढी कार मोडलका धेरै उत्पादनहरू उपलब्ध गराउने प्रयास गरिरहेको छ। यी कारहरू पेट्रोल, डिजेल वा सीएनजीमा मात्र नभई विद्युतीय कार पनि हुनेछन्। हाल, नेक्सन, पंच, टियागो, टिगोर, कर्भ र ह्यारियर जस्ता कम्पनीको नेमप्लेटहरू पनि ईभी विकल्पमा उपलब्ध छन्।
हालै सार्वजनिक भएको इलेक्ट्रिक एसयुभी टाटा ह्यारियर ईभीले आफ्नो पावर र फिचर तथा क्षमताका कारण मिड(प्राइज इलेक्ट्रिक कार खण्डमा नयाँ मापदण्डहरू स्थापित गर्दैछ र अन्य कम्पनीहरूलाई कडा चुनौती दिइरहेको छ।
टाटा मोटर्सले चालु आर्थिक वर्ष २०२६ देखि आर्थिक वर्ष २०३० सम्म भारतीय बजारमा आफ्ना नयाँ उत्पादन र प्रविधिमा ३३ हजार करोड रुपैयाँदेखि ३५ हजार करोड रुपैयाँ लगानी गर्ने जनाएको छ। यसमा हालको भन्दा दोब्बर लगानी ईभी सेग्लमेन्ट सवारी साधनहरूमा गरिने छ। कम्पनीले आर्थिक वर्ष २०२७ सम्ममा आफ्नो विद्युतीय कारको हिस्सा हालको समयको तुलनामा २० प्रतिशत पुर्याउन चाहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।