काठमाण्डौ । एमभी दुगड ग्रुपले चिनियाँ ब्रान्ड काइफेङ (KAIFENG) का तीन विद्युतीय सवारी नेपाल भित्र्याउने तयारी गरेको छ। पहिलो चरणमा १४ सिटे यात्रुवाहक भ्यान, डेढ टन मालसामान बोक्ने लाइट ट्रक र पाँच सिटे कार ल्याउने कम्पनीको योजना छ। यससँगै काइफेङले यात्रु ढुवानी, माल ढुवानी र निजी प्रयोगका लागि छुट्टाछुट्टै मोडल नेपाली बजारमा उतार्ने भएको छ।
एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो क्लिनिक प्रालि काइफेङको नेपालका लागि आधिकारिक वितरक नियुक्त भइसकेको छ। कम्पनीका बिजनेस हेड नवीन फुयालका अनुसार काठमाण्डौको पानीपोखरीमा शोरुम र बालाजुमा बिक्रीपछिको सेवा केन्द्र स्थापना गरिएको छ। समूहले देशभरका १६ अटोमोबाइल शाखाबाट पनि क्रमशः बिक्री तथा सेवा उपलब्ध गराउने योजना बनाएको उनले बताए।
१४ सिटे भ्यानमा ६२.२ किलोवाट आवरको ब्याट्री
व्यावसायिक यात्रु सेवाका लागि ल्याउन लागिएको KF5039 EV मा १४ सिट छन्। यसमा ६२.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री र ८० किलोवाटको मोटर छ। कम्पनीले एक पटकको चार्जमा ३५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरेको छ।
भ्यानमा एबीएस, इलेक्ट्रिक पावर स्टेयरिङ, टायर प्रेसर निगरानी प्रणाली, सेन्ट्रल लक र १०.१ इन्चको मल्टिमिडिया टचस्क्रिन छन्। रियरभ्यु क्यामेरा, पछाडिको पार्किङ सेन्सर, विद्युतीय रूपमा मिलाउन सकिने र तताउने सुविधा भएका ऐना, एयर कन्डिसनिङ, पावर विन्डो र डीसी फास्ट चार्जिङ पनि यसका विशेषता हुन्।
डेढ टन भार बोक्ने विद्युतीय लाइट ट्रक
मालसामान ढुवानीका लागि ल्याउन लागिएको KF1021 EV को भारवहन क्षमता १.५ टन छ। यसमा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री र ७० किलोवाटको मोटर छ। कम्पनीका अनुसार यसको रेन्ज २९० किलोमिटरभन्दा बढी छ। ट्रकमा १९५/७० आर१५ साइजका टायर प्रयोग गरिएको छ।
पाँच सिटे कारमा १७० मिलिमिटर ग्राउन्ड क्लियरेन्स
निजी प्रयोगका लागि ल्याउन लागिएको KFD01 EV पाँच सिटे कार हो। यसमा ३१.९५ किलोवाट आवरको एलएफपी ब्याट्री र ४५ किलोवाटको मोटर छ। कारको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर छ। एक पटकको चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ।
कारमा एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), इलेक्ट्रिक पावर स्टेयरिङ र एयरब्याग छन्। एयर कन्डिसनर, हिटर, मल्टिमिडिया टचस्क्रिन, रियरभ्यु क्यामेरा, पार्किङ सेन्सर, लेदर सिट, पावर विन्डो, स्टेयरिङमै रहेका कन्ट्रोल र डीसी फास्ट चार्जिङको सुविधा पनि छ।
आयात–निर्यातबाट सवारी उत्पादनसम्म
कम्पनीका अनुसार आयात–निर्यात व्यवसायबाट अटोमोटिभ क्षेत्रमा प्रवेश गरेको काइफेङले चीनको चियाङ्सु प्रान्तस्थित दान्याङ सहरमा आफ्नै कारखाना सञ्चालन गर्छ। यसको कारोबारमा सवारी उत्पादन, स्पेयर पार्ट्स, विदेशमा एसेम्बलीका लागि पूर्ण रूपमा छुट्याइएका सवारी किट (सीकेडी) को बिक्री, नयाँ ऊर्जाका सवारीको निर्यात र अन्य ब्रान्डका लागि उत्पादन सेवा (ओईएम) पर्छन्।
काइफेङले चीनका अटोमोटिभ टोलीसँगको सहकार्यमा नान्टोङ र सांघाईमा संयुक्त अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरेको जनाएको छ। कम्पनीका अनुसार अनुसन्धान, उत्पादन र प्राविधिक सहकार्यमा करिब १५० सदस्यको मुख्य टोली संलग्न छ। नेपालसहित पाकिस्तान, श्रीलंका, इजिप्ट, टर्की, इथियोपिया, इरिट्रिया, कंगो, नाइजेरिया र म्यानमारमा कम्पनीले ग्राहकसँग व्यावसायिक सम्पर्क विस्तार गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।