काठमाण्डौ । पाकिस्तानले साउदी अरबमा आफ्ना सैनिक तैनाथ गर्ने भएको छ। मध्यपूर्वमा क्षेत्रीय सुरक्षा चुनौती बढिरहेका बेला पाकिस्तानले साउदी अरबको सुरक्षा तथा रक्षा क्षमता सुदृढ बनाउन सैनिक पठाउन लागेको हो।
साउदी अरब प्रस्थान गर्न लागेका पाकिस्तानी सैनिकका लागि शनिबार विशेष बिदाइ समारोह आयोजना गरिएको छ। समारोहमा पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)का अनुसार समारोहमा पाकिस्तानका लागि साउदी अरबका राजदूत डा. राजेह अल–तमीमी अल–बगामी, पाकिस्तानी सेनाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल उमर अहमद बुखारी र लाहोर कोरका कमान्डर लेफ्टिनेन्ट जनरल मुहम्मद उमर बशीरलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।
बीबीसी उर्दूका अनुसार पाकिस्तानले साउदी अरबमा सैनिक पठाउने निर्णयलाई दुई देशबीचको दशकौँ पुरानो रणनीतिक साझेदारी र रक्षा सम्बन्धको निरन्तरताका रूपमा व्याख्या गरेको छ।
आईएसपीआरले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी सेनाको तैनाथी साउदी अरबको सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रतिबद्धतासँग जोडिएको उल्लेख छ।
पाकिस्तानले इस्लाम धर्मका दुई पवित्र मस्जिद रहेको साउदी अरबको सुरक्षालाई विशेष महत्त्व दिँदै आएको छ। सेनाले ती धार्मिक स्थलहरूको पवित्रता र साउदी अरबको सुरक्षाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
साउदी अरब पुग्ने पाकिस्तानी सैनिकले दुई देशबीच भएको आपसी सहमति र विद्यमान रक्षा सहकार्यको संरचनाअन्तर्गत जिम्मेवारी निर्वाह गर्नेछन्। यद्यपि, कति सैनिक पठाइने र उनीहरू कति समयसम्म त्यहाँ रहने भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
पाकिस्तानी सेनाका अनुसार पछिल्लो तैनाथीले साउदी अरबको रक्षा क्षमता थप सुदृढ बनाउनुका साथै दुई देशबीचको सैन्य समन्वयलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
मध्यपूर्वमा सुरक्षा चुनौती र भूराजनीतिक तनाव कायम रहेका बेला पाकिस्तानको यो कदमलाई दुई मुलुकबीचको रणनीतिक तथा सैन्य सम्बन्ध विस्तारको महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
यसले पाकिस्तान र साउदी अरबबीच लामो समयदेखि कायम आपसी विश्वास, धार्मिक सम्बन्ध र रक्षा साझेदारीलाई थप मजबुत बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।