आईतवार, मंसिर १३,२०८३ 06:22:11
  • आईतवार, मंसिर १३,२०८३ 06:22:11
Global IME Bank Limited

कृषि क्षेत्रमा महिलाको योगदान ६६ प्रतिशत, तर भूमि र वित्तीय स्रोतमा पहुँच कमजोर !

Bizshala
कृषि क्षेत्रमा महिलाको योगदान ६६ प्रतिशत, तर भूमि र वित्तीय स्रोतमा पहुँच कमजोर !
New Office

काठमाण्डौ । नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेख्य रहे पनि भूमि, वित्तीय स्रोत, प्रविधि, सरकारी अनुदान तथा बजारमा उनीहरूको पहुँच अझै कमजोर रहेको सरोकारवालाहरूले बताएका छन्।

कृषि उत्पादनदेखि बीउबिजन संरक्षण, खाद्य व्यवस्थापन र परिवारको पोषण सुरक्षासम्म महिलाको महत्त्वपूर्ण भूमिका भए पनि कृषि नीति निर्माण र स्रोत वितरणमा उनीहरूलाई अपेक्षित प्राथमिकता नदिइएको उनीहरूको भनाइ छ।

खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट्स (अनाज) को सहकार्यमा आइतबार काठमाण्डौमा आयोजित ‘महिला साना किसानको कृषि क्षेत्रमा योगदान’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले महिला किसानको योगदानको उचित मूल्यांकन गर्दै उनीहरूको अधिकार र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा वक्ताहरूले कृषि क्षेत्रलाई दिगो, आत्मनिर्भर र वातावरणमैत्री बनाउन महिला किसानको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनीहरूले परम्परागत बीउबिजन संरक्षण, जैविक मलको प्रयोग, रासायनिक विषादीको न्यूनीकरण, भूमिमा महिलाको स्वामित्व र वास्तविक किसानसम्म सरकारी अनुदान पुर्‍याउने विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए।

दिगो कृषि अभ्यासकर्ता निर्मा याङ्छेन लामाले कृषि क्षेत्रमा महिलाको योगदान खेतीपातीमा मात्रै सीमित नभई परिवारको दैनिक खाद्य व्यवस्थापनदेखि बीउबिजन संरक्षणसम्म फैलिएको बताइन्।

उनका अनुसार बिहान उठेदेखि राति सुत्ने बेलासम्म महिलाहरू परिवार र कृषि व्यवस्थापनका विभिन्न काममा संलग्न हुन्छन्। भान्सामा के पकाउने भन्ने योजना बनाउनेदेखि आवश्यक खाद्यान्न जुटाउने, अन्न तथा बीउबिजन संरक्षण गर्ने र परिवारलाई वर्षभरि पुग्ने गरी खाद्यान्न व्यवस्थापन गर्ने जिम्मेवारीसमेत महिलाले निर्वाह गर्दै आएका छन्।

ग्रामीण क्षेत्रमा रोजगारीका अवसरको अभाव र वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै जाँदा कृषि क्षेत्रको जिम्मेवारी थप महिलाको काँधमा आएको उनको भनाइ छ। तर कृषि व्यवसाय सञ्चालन गर्न आवश्यक ऋण तथा वित्तीय स्रोतमा महिलाको पहुँच कमजोर रहेको उनले बताइन्।

विगत १० वर्षदेखि श्रीमान्सँगै कृषि क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै लामाले हाल आफूले भाडामा लिएको करिब ३० देखि ४० रोपनी जग्गामा खेती गर्दै आएको र कामदारसमेत राखेर कृषि व्यवसाय सञ्चालन गरिरहेको जानकारी दिइन्।

उनले दिगो कृषि प्रणाली विकास गर्न परम्परागत खेतीपाती, पशुपालन, जैविक मल र स्थानीय उत्पादनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताइन्।

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

पछिल्लो समय रैथाने बीउबिजन लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले कृषि यान्त्रिकीकरणलाई ठूला मेसिनमा मात्रै केन्द्रित नगरी महिला किसानले सहज रूपमा प्रयोग गर्न सक्ने साना तथा उपयोगी प्रविधिको विकास गर्नुपर्ने सुझाव दिइन्।

त्यस्तै, प्रकृतिमैत्री उत्पादनले उचित बजार पाउने वातावरण बनाउन स्थानीय हाटबजारको प्रवर्द्धन, होमस्टेमा स्थानीय उत्पादनको प्रयोग तथा पर्यटनलाई कृषि उपजसँग जोड्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय भूमि अधिकार मञ्चकी राष्ट्रिय कोषाध्यक्ष पातली थामीले महिलाको नाममा जमिनको स्वामित्व नहुँदा उनीहरू परिवार र समाजमा समेत कमजोर अवस्थामा रहनुपरेको बताइन्।

उनका अनुसार महिलाको नाममा भूमि अधिकार सुनिश्चित हुँदा उनीहरूको आर्थिक अवस्थासँगै सामाजिक तथा राजनीतिक हैसियतसमेत बलियो हुन्छ।

महिलाको नाममा जग्गा दर्ता हुँदैमा उनीहरूले त्यसको वास्तविक उपयोग र निर्णय गर्ने अधिकार पाएका छन् भन्ने सुनिश्चित नहुने भन्दै उनले भूमिमा महिलाको वास्तविक स्वामित्व स्थापित गर्नुपर्ने बताइन्।

थामीले अहिले कृषि क्षेत्रको एउटा प्रमुख विडम्बना जग्गा हुनेले खेती नगर्ने र जग्गा नहुनेले खेती गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन्।

खेती गर्ने वास्तविक किसानकै नाममा जमिनको स्वामित्व हुनुपर्नेमा जोड दिँदै उनले सरकारी अनुदान वितरणअघि किसानको पहिचान र वर्गीकरण गर्नुपर्ने बताइन्।

‘सरकारले दिने अनुदान वास्तविक किसानले भन्दा पनि नक्कली किसानले पाउने अवस्था छ। त्यसैले सरकारले वास्तविक किसानको पहिचान गरेर उनीहरूकै हातमा अनुदान पुग्ने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्।

उनले रैथाने बीउबिजन संरक्षण, रासायनिक विषादीको प्रयोग न्यूनीकरण तथा बाँझो जमिनमा खेती गर्ने वातावरण बनाउन सरकारले विशेष नीति ल्याउनुपर्ने सुझावसमेत दिइन्।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले नेपालको कृषि क्षेत्रमा महिलाको योगदान ६६ प्रतिशत रहेको उल्लेख गर्दै कृषि विकासका योजना तथा कार्यक्रममा महिला किसानलाई प्राथमिकता दिनुपर्ने बताए।

उनका अनुसार महासंघले आफ्ना करिब ७० प्रतिशत गतिविधि महिला किसानको हकहित र अधिकारका विषयमा केन्द्रित गर्दै आएको छ।

महिलाको नाममा जमिनको स्वामित्व स्थापित हुँदा उनीहरूमा आफ्नो श्रम र उत्पादनप्रति अपनत्व बढ्ने भन्दै उनले किसानको सूचीकरण तथा वर्गीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।

श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिले विस्थापित गर्दै जाँदा कृषि जैविक विविधता र स्थानीय उत्पादन प्रणालीमा असर परेको उल्लेख गरे।

उनले रासायनिक मलमा अर्बौं रुपैयाँ खर्च गर्नुभन्दा जैविक मल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए।

‘प्रत्येक किसानको घरमा गाईभैंसी पालन गर्ने वातावरण बनाउने नीति ल्याउन सके मलको विकल्पसमेत तयार हुन्छ,’ उनले भने।

श्रेष्ठले रासायनिक मल कारखाना स्थापना गर्ने सरकारी योजनाप्रति असहमति जनाउँदै जैविक मल उत्पादन गर्ने उद्योग स्थापनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले नेपालको कृषि प्रणालीमा आएको परिवर्तनले परम्परागत खाद्य उत्पादन प्रणाली र जैविक विविधता कमजोर बन्दै गएको बताए।

उनका अनुसार विगतमा नाकाबन्दी तथा विभिन्न संकटका समयमा समेत स्थानीय उत्पादन र रैथाने बालीका कारण नेपालले खाद्य संकटको सामना तुलनात्मक रूपमा सहज ढंगले गरेको थियो। तर पछिल्लो समय आधुनिक कृषि प्रणालीको नाममा रैथाने बाली र परम्परागत बीउबिजन नष्ट हुँदै जाँदा खाद्य सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ।

अधिकारीले कृषि जैविक विविधता करिब ५० प्रतिशत नष्ट भइसकेको दाबी गरे। त्यस्तै, करिब १२ देखि १३ प्रतिशत नागरिक भोकमरीको अवस्थामा रहेको उल्लेख गर्दै उनले नेपालको खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको बताए।

उनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप जोखिम सिर्जना भइरहेको भन्दै प्रकृतिमैत्री तथा जलवायुमैत्री कृषि प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए।

किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्‍याउन कठिनाइ भइरहेको उल्लेख गर्दै उनले उत्पादनसँगै वितरण प्रणाली र बजार व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताए।

कृषि क्षेत्रको संरक्षण र रूपान्तरणका लागि विद्यालय तहकै पाठ्यक्रममा कृषि, खाद्य प्रणाली, रैथाने बाली तथा जैविक विविधताका विषय समेट्नुपर्ने उनको सुझाव थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले महिला किसानको योगदानलाई कृषि उत्पादनको तथ्यांकमा मात्रै सीमित नराखी उनीहरूको श्रमको उचित मूल्यांकन, भूमिमा स्वामित्व, वित्तीय पहुँच र बजारमा सहभागिता सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

उनीहरूले महिला किसानमैत्री कृषि नीति, सहुलियतपूर्ण ऋण, उत्पादनमा आधारित अनुदान तथा स्थानीय बजारको प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमको सहजीकरण अनाजका अध्यक्ष किरण आचार्यले गरेका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.