काठमाण्डौ । नेपालमा लोकप्रिय खेल लुडोलाई व्यावसायिक तथा प्रतिस्पर्धात्मक स्वरूप दिने उद्देश्यले ‘नेपाल लुडो लिग (एनएलएल) २०२६’ आयोजना हुने भएको छ। आयोजक भरपर्दो इभेन्ट्स प्रालिले प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ।
कुल १२ लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगितामा उत्कृष्ट १६ खेलाडी पुरस्कृत हुनेछन्। प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँसम्म पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेको हुनुपर्नेछ। इच्छुक खेलाडीले आगामी डिसेम्बर २२ अर्थात् पुस ७ गते दिउँसो ४ बजेसम्म दर्ता गर्न सक्नेछन्। प्रि–लन्च अफरअन्तर्गत दर्ता शुल्क भ्याटसहित ९९ रुपैयाँ तोकिएको छ।
आयोजक संस्थाका कार्यकारी अध्यक्ष सुरज भट्टराईका अनुसार लुडोलाई मनोरञ्जनमा मात्र सीमित नराखी राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक खेलका रूपमा विकास गर्ने उद्देश्यले लिग आयोजना गर्न लागिएको हो।
‘लुडो केवल मनोरञ्जनको खेल मात्र नभई विभिन्न पुस्ता, समुदाय र भूगोललाई जोड्ने साझा माध्यम पनि हो,’ भट्टराईले भने, ‘यसको लोकप्रियतालाई व्यवस्थित प्रतिस्पर्धामा रूपान्तरण गर्दै नेपाली खेलाडीलाई राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउन चाहन्छौँ।’
प्रतियोगिताको प्रारम्भिक छनोट अनलाइनमार्फत हुनेछ। आयोजकले विकास गरेको डिजिटल प्लेटफर्मबाट खेलाडी दर्ता तथा छनोट खेल सञ्चालन गरिनेछ।
अनलाइन छनोटमा पहिलो पटक पराजित खेलाडीले पुनः एकपटक प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। त्यसपछि भने नकआउट प्रणाली लागू हुनेछ।
डिसेम्बर २३ देखि २५ सम्म सञ्चालन हुने अनलाइन छनोटबाट उत्कृष्ट २४ देखि ३२ खेलाडी छानिनेछन्। उनीहरूले काठमाण्डौमा हुने प्रत्यक्ष प्रतिस्पर्धामा सहभागिता जनाउनेछन्।
काठमाण्डौमा क्विक म्याच तथा पोइन्ट प्रणालीका आधारमा प्रतिस्पर्धा गराई उत्कृष्ट १६ खेलाडीलाई आधिकारिक लिग चरणमा प्रवेश गराइनेछ। लिग तथा फाइनल प्रतिस्पर्धा डिसेम्बर २८ देखि ३० सम्म सञ्चालन हुनेछ।
प्रत्यक्ष प्रतिस्पर्धाका लागि काठमाण्डौ आउने छनोट भएका खेलाडीको खाने तथा बस्ने व्यवस्था आयोजकले गर्नेछ। उनीहरूलाई न्यूनतम यातायात खर्चसमेत उपलब्ध गराइनेछ।
आयोजकका अनुसार प्रतियोगिताको विस्तृत विवरण, प्रायोजक तथा साझेदारसम्बन्धी जानकारी केही दिनभित्र विशेष कार्यक्रममार्फत सार्वजनिक गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले www.nepalludoleague.com मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।