काठमाण्डौ । नेपाललाई आर्थिक सहायता उपलब्ध गराएको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विभिन्न टिप्पणी भइरहेका बेला भारत आफैंले पछिल्ला तीन आर्थिक वर्षमा झण्डै ३ लाख करोड भारतीय रुपैयाँ बराबरको वैदेशिक ऋण तथा अनुदान प्राप्त गरेको तथ्य बाहिर आएको छ।
भारत सरकारको अर्थ मन्त्रालयका बजेट दस्तावेजअनुसार आर्थिक वर्ष २०२२/२३ देखि २०२४/२५ सम्म भारतले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट कुल २ लाख ८५ हजार ७८६ करोड १९ लाख भारतीय रुपैयाँ बराबरको बाह्य सहायता प्राप्त गरेको हो। नेपाली मुद्रामा यो रकम करिब ४ लाख ५७ हजार २५८ करोड रुपैयाँ बराबर हुन्छ।
हालै प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको आर्थिक सहायता प्याकेजलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बहस भइरहेको छ। बेलायती पत्रिका *द इकोनोमिस्ट*ले नेपालको सहायता प्राप्त गर्ने विषयलाई होच्याउने अर्थ लाग्ने शैलीमा प्रस्तुत गरेको भन्दै आलोचना भइरहेका बेला भारतकै वैदेशिक सहायता सम्बन्धी तथ्यांक चर्चामा आएको हो।
भारतको अर्थ मन्त्रालयका विवरणले विश्वका प्रमुख अर्थतन्त्रमध्ये एक भारतसमेत विकास निर्माण र पूर्वाधार विस्तारका लागि ठूलो परिमाणमा बाह्य ऋण तथा अनुदानमा निर्भर रहेको देखाउँछ।
तीन वर्षमा कुन वर्ष कति सहायता ?
भारत सरकारले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०२२/२३ मा ७८ हजार ९३९ करोड ५७ लाख भारु बराबरको बाह्य सहायता प्राप्त भएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०२३/२४ मा यस्तो सहायता बढेर १ लाख ३ हजार ४५१ करोड १३ लाख भारु पुगेको थियो। आर्थिक वर्ष २०२४/२५ मा भने १ लाख ३ हजार ३९५ करोड ४९ लाख भारु बराबरको सहायता प्राप्त भएको विवरण छ।
यो रकममा खुद बाह्य ऋण, नगद अनुदान र वस्तुगत अनुदान समावेश छन्। कुल वैदेशिक सहायतामा ऋणको हिस्सा अत्यधिक रहेको देखिन्छ।
विश्व बैंक र जापानको ठूलो योगदान
भारतलाई विकासका लागि वित्तीय सहयोग गर्ने प्रमुख संस्थामा विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र ब्रिक्स राष्ट्रहरूद्वारा स्थापित नयाँ विकास बैंक (एनडीबी) रहेका छन्।
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंक (आईबीआरडी) बाट भारतले लामो समयदेखि विकास ऋण प्राप्त गर्दै आएको छ। त्यस्तै, एडीबीमार्फत ऊर्जा, यातायात, सहरी विकास तथा वित्तीय क्षेत्रका आयोजनामा लगानी हुँदै आएको छ।
द्विपक्षीय सहयोगतर्फ भने जापान भारतको सबैभन्दा ठूलो विकास साझेदार हो।
जापानले सन् १९५८ देखि भारतलाई ऋण, अनुदान तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ। जापानी सहयोगमा मुम्बई–अहमदाबाद उच्च गतिको रेलमार्ग, मेट्रो रेल, मालवाहक रेल करिडोरलगायत ठूला पूर्वाधार आयोजना निर्माण भइरहेका छन्।
आर्थिक वर्ष २०२३/२४ मा मात्रै भारतले जापानबाट साँवा भुक्तानी कटाएर २८ हजार ७९० करोड भारु खुद ऋण प्राप्त गरेको थियो।
सोही अवधिमा रुसबाट ६ हजार २१७ करोड र जर्मनीबाट ९८२ करोड भारु खुद ऋण प्राप्त भएको थियो।
आर्थिक वर्ष २०२४/२५ को संशोधित अनुमानअनुसार जापानबाट २० हजार १२३ करोड, जर्मनीबाट ३ हजार ५७७ करोड, रुसबाट २ हजार ८२९ करोड तथा फ्रान्सबाट १ हजार ७१४ करोड भारु खुद ऋण प्राप्त हुने प्रक्षेपण गरिएको थियो।
ऋणसँगै अनुदान पनि लिन्छ भारत
भारतले बाह्य ऋण मात्रै नभई विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट अनुदानसमेत प्राप्त गर्दै आएको छ।
पछिल्ला तीन आर्थिक वर्षमा भारतले कुल ४ हजार ७५ करोड ६१ लाख भारु बराबरको नगद तथा वस्तुगत अनुदान प्राप्त गरेको सरकारी विवरणले देखाउँछ।
यस अवधिमा नगद अनुदान २ हजार ७७६ करोड र वस्तुगत अनुदान १ हजार २९९ करोड भारु रहेको छ।
आर्थिक वर्ष २०२४/२५ मा मात्रै भारतले १ लाख २ हजार ७०८ करोड ८३ लाख भारु खुद बाह्य ऋण, ६४८ करोड ५७ लाख भारु नगद अनुदान र ३८ करोड ९ लाख भारु वस्तुगत अनुदान प्राप्त गरेको थियो।
सोही वर्ष भारतले बाह्य ऋणको साँवा भुक्तानीमा ५५ हजार ४३८ करोड ४ लाख र ब्याज भुक्तानीमा ३४ हजार १६२ करोड ३ लाख भारु खर्च गरेको थियो।
वैदेशिक सहायता लिनु कमजोरी होइन
विश्वका ठूला अर्थतन्त्रले समेत विकासका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण तथा अनुदान परिचालन गर्ने अभ्यास सामान्य हो।
भारतको उदाहरणले पनि आर्थिक आकार ठूलो हुँदैमा कुनै मुलुकलाई बाह्य वित्तीय स्रोत आवश्यक नपर्ने भन्ने मान्यता गलत रहेको देखाउँछ।
नेपालले भारतबाट ऋण तथा अनुदान प्राप्त गर्नु र भारतले जापान, विश्व बैंक तथा अन्य अन्तर्राष्ट्रिय संस्थाबाट सहायता लिनु विकास वित्त परिचालनकै अभ्यास हुन्।
तर, सहायता प्राप्त गर्ने विषयलाई राष्ट्रिय प्रतिष्ठासँग जोडेर हेर्नेभन्दा त्यसको सर्त, ब्याजदर, ऋण तिर्न सक्ने क्षमता, आयोजना छनोट र आर्थिक प्रतिफलका आधारमा मूल्यांकन गर्नु बढी सान्दर्भिक हुन्छ।
भारतको तथ्यांकले एउटा स्पष्ट सन्देश दिएको छ—वैदेशिक ऋण तथा अनुदान लिनु आफैंमा कमजोरी होइन, त्यसलाई कति उत्पादनशील र परिणाममुखी ढंगले उपयोग गरिन्छ भन्ने विषय नै अर्थपूर्ण हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।