काठमाण्डौ । इजरायली आक्रमणमा परी कम्तीमा १४ जना इरानी आणविक वैज्ञानिकको मृत्यु भएको जनाइएको छ । यो आक्रमणले आणविक कार्यक्रम जारी राख्न इरानलाई पछाडि धकेल्ने भए पनि रोक्न नसक्ने विज्ञहरूले बताएका छन् ।
फ्रान्सका लागि इजरायलका राजदूत जोशुआ जरकाले वैज्ञानिकहरूको मृत्यु र इजरायली र अमेरिकी आक्रमणबाट बचेको आणविक संरचना र सामग्रीले इरानलाई हतियार बनाउन लगभग असम्भव बनाउने बताए । उनले सम्पूर्ण समुहको उन्मूलनका कारण इरानको आणविक कार्यक्रम केही वर्ष मात्र नभएर धेरै वर्षसम्म स्थगित हुनसक्ने बताए । यद्यपि, आणविक विश्लेषकहरूले इरानसँग अन्य वैज्ञानिकहरू समेत भएकाले उनीहरुलाई प्रतिस्थापन गर्न सक्ने बताउँछन्।
युरोपेली देशका सरकारहरूले परमाणु प्रविधिमा इरानको प्रगतिलाई सैन्य शक्तिले मात्रै अन्त्य गर्न नसकिने बताउँछन्। त्यसकारण उनीहरू इरानी कार्यक्रमको चिन्तालाई सम्बोधन गर्न वार्ताबाट समाधान चाहन्छन्।
बेलायतका विदेश सचिव डेभिड लामीले हाउस अफ कमन्समा सांसदहरूलाई भने, ‘इरानले दशकौंदेखि जम्मा गरेको प्राविधिक जानकारीलाई आक्रमणले नष्ट गर्न सक्दैन न त त्यो प्राविधिक जानकारी कुनै पनि सरकारको परमाणु हतियार उत्पादन गर्ने महत्वाकांक्षालाई नष्ट गर्न प्रयोग गर्न सकिन्छ।’
इजरायलको आक्रमणमा परी इरानका रसायनशास्त्री, भौतिकशास्त्री र इन्जिनियरहरूको मृत्यु भएको छ । जार्काले इजरायली हमलामा कम्तीमा १४ भौतिकशास्त्री र आणविक इन्जिनियर मारिएको बताए । उनले मारिनेहरू इरानका शीर्ष वैज्ञानिकहरू र इरानको आणविक कार्यक्रमको पछाडि उनीहरुको दिमाग रहेको बताए।