काठमाण्डौ । विकास बैंकहरुले गत आवको अन्त्यसम्म ६ अर्ब एक करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
बैंकहरुले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २१.३६ प्रतिशत बढी हो । अघिल्लो आवमा विकास बैंकहरुले ४ अर्ब ९५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत आवमा अधिकांश बैंकको नाफा बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक भने घाटामा देखिएका छन् । कर्पोरेटले गत आवमा एक करोड ६३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ भने नारायणी डेभलपमेन्ट बैंकले २ करोड ५१ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
गत आवमा १४ विकास बैंकमध्ये १२ बैंक भने नाफामा उक्लिएका छन् । जसमध्ये पनि ८ बैंकको नाफा अघिल्लो आवको तुलनामा बढेको छ भने चार बैंकको घटेको छ ।
आव २०८१/८२ को अन्त्यसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास रहेको छ । बैंकले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा विकास बैंकको इतिहासमा नयाँ रेकर्ड हो । बैकको नाफा अघिल्लो आवको तुलनामा ३०.७० प्रतिशतले बढेको छ ।
त्यस्तै, गरिमा विकास बैंकले एक अर्ब ३५ करोड नाफा कमाएर दोस्रो स्थान कब्जा गरेको छ । बैंकको नाफा अघिल्लो आवको तुलनामा १८९.३२ प्रतिशत वृद्धि भएको छ ।
यसका साथै शाइन रेसुङ्खाले ६८ करोड ८६ लाख, कामना सेवा विकास बैंकले ६८ करोड ७१ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५३ करोड ७० लाख, महालक्ष्मी विकास बैंकले ५० करोड ६६ लाख, लुम्बिनी विकास बैंकले ३७ करोड ९८ लाख, मितेरी डेभलपमेन्ट बैंकले १३ करोड ४ लाख, सिन्धुले ११ करोड ७८ लाख, ग्रीन डेभलपमेन्ट बैंकले ६ करोड ९४ लाख, एक्सेल डेभलपमेन्ट बैंकले ४ करोड ९ लाख रुपैयाँ र ज्योति विकास बैंकले १ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा सिन्धु विकास बैंक रहेको छ । बैंकले २८७.६० प्रतिशतले नाफा बढाएको छ । साथै सबैभन्दा धेरै नाफा घट्नेमा ज्योति विकास बैंकको ९२.७४ प्रतिशतले घटेको छ ।

एनपीएलमा देखिएन सुधार
गत आवको अन्त्यसम्म तीन विकास बैंकको मात्रै खराब कर्जा अनुपात (एनपीएल)घटेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा अनुपात अधिकतम ५ प्रतिशतसम्म हुनुपर्ने भनेपनि ५ विकास बैंकको यस्तो अनुपात सो प्रतिशतभन्दा माथि रहेको छ । पाँच प्रतिशतभन्दा बढी एनपीएल भएमा सो बैंकमा खराब कर्जाको अवस्था थुप्रिन थालेको बुझिन्छ र यसले वित्तीय अवस्था नै संकटमा पार्न सक्ने देखिन्छ ।
पाँच प्रतिशतभन्दा बढी एनपीएल हुने बैंकहरुमा नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ५०.९७ प्रतिशत, कर्पोेरेट डेभलपमेन्ट बैंकको १२.३६ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशत, सिन्धु विकास बैंकको ६.०३ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ५.६४ प्रतिशत रहेको छ । अन्य बैंकहरुको ५ प्रतिशत भन्दा कम रहेको छ ।
खराब कर्जा अनुपात घट्ने बैंकहरुमा सिन्धु विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र गरिमा विकास बैंक रहेका छन् ।
अधिकांशको इपीएसमा गिरावट
विकास बैंकहरुको नाफामा सुधार देखिएपनि प्रतिसेयर आम्दानी (इपीएस)मा भने खासै सुधार देखिएको छैन । अधिकांश बैंकको यस्तो अवस्था अघिल्लो आवको तुलनामा घट्न पुगेको छ ।
अघिल्लो आवको तुलनामा ६ बैंकको मात्रै इपीएस बढेको छ भने ९ बैंकको घटेको छ । यो सूचकले बैंकको आम्दानीको क्षमता देखाउने भएकाले महत्वपूर्ण सूचकको रुपमा लिइन्छ ।
सबैभन्दा धेरै इपीएस बढ्ने कम्पनीमा सिन्धु विकास बैंक र गरिमा विकास बैंक रहेको छ । सिन्धुको इपीएस १५.६९ रुपैयाँले बढेको छ भने गरिमाको इपीएस १५.४३ रुपैयाँले बढेको छ ।
त्यस्तै, सबैभन्दा धेरे घट्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको इपीएस ४.९७ रुपैयाँले घटेर १०.४८ रुपैयाँ कायम भएको छ ।
लाभांश क्षमता कुनको कति ?
विकास बैंकहरुमा अधिकांश लाभांश दिन योग्य देखिएका छन् । वितरणयोग्य मुनाफाको आधारमा १४ मध्ये १० बैंक लाभांश दिन सक्षम देखिएका छन् भने ४ बैंकको यस्तो अवस्था ऋणात्मक देखिएको छ ।
लाभांश दिन सक्षम रहेका विकास बैंकहरुमा पनि अधिकांशको क्षमता डबल डिजिटमा देखिएको छ । सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको २०.७५ प्रतिशत रहेको छ ।
त्यस्तै, कामनाको १७.३० प्रतिशत, शाइन रेसुङ्खाको १३.९६ प्रतिशत, मितेरीको १२.८३ प्रतिशत, गरिमाको १२.५९ प्रतिशत, सांग्रिलाको ११.६४ प्रतिशत, महालक्ष्मी विकास बैंकको ११.५१ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको १०.६७ प्रतिशत, लुम्बिनीको ८.१३ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको २.०९ प्रतिशत छ ।