काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको बिक्री आम्दानी समेत १७३.०१ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ७५ करोड ५४ लाखमा सीमित थियो ।
कम्पनीको अन्य आम्दानी समेत बढेको छ । अघिल्लो आवमा ५ करोड ९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले चालु आवमा भने १६ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको खर्च समेत बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ९४ करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।
४ अर्ब ९७ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब २५ करोड र कुल चालु दायित्व ४ अर्ब २६ करोड रहेको छ ।
यस्तै कम्पनीले यो अवधिसम्म ३ अर्ब ७१ करोड अल्पकालिन र ९ करोड ९७ लाख दीर्घकालिन कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०१.९२ रुपैयाँ र तरलता अनुपात १.२३ प्रतिशत कायम भएको छ ।