शनिबार, श्रावण २,२०८३ 08:52:15
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:52:15
Bizshala
Global IME Bank Limited

तिहारको मुखमा बेखर्ची भए सेबोनका कर्मचारी, अर्थले बेवास्ता गर्दा पीडामाथि पीडा

तिहारको मुखमा बेखर्ची भए सेबोनका कर्मचारी, अर्थले बेवास्ता गर्दा पीडामाथि पीडा
New Office

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरु तिहारमा बेखर्ची भएका छन् ।  

करिब एक महिनादेखि आन्दोलन गरिरहेका उनीहरु आफैंले लगातार पेनडाउन पनि गर्दै आएका छन् । प्रशासनिक कामकाज नै दैनिक रुपमा ठप्प हुँदा त्यसको मार आन्दोलनमा उत्रिने स्वयम् कर्मचारीहरुमाथि पनि परेको हो ।

 सेबोनका कर्मचारीहरु लामो समयदेखि अस्तित्वमा रहेको सुरक्षण तथा कल्याण कोष खारेजीका लागि अर्थमन्त्रालयबाट भएको नियोजित प्रहारविरुद्ध आन्दोलनमा छन् । अर्थ मन्त्रालयले २०८२ असोज २ गते एक पत्र पठाई ती कोषहरु खारेज गर्न, हालसम्म त्यसमार्फत लिइएका सेवासुविधा समेत फिर्ता(असूल उपर) गर्न भनेपछि आफूहरुमाथि अन्याय भएको महसुससहित सेबोन कर्मचारी आन्दोलनमा छन् ।  

अन्य विभिन्न सरकारी निकायहरुमा यस्तै खालका कर्मचारी कल्याणकोष अस्तित्वमा रहे पनि आफूहरुमाथि मात्र नियोजित र पूर्वाग्रही प्रहार भएको भन्दै उनीहरुले असोज २ को पत्र फिर्ता गर्न वा ती कोष खारेजीसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै आएका छन् ।

 उनीहरुले लामो समयदेखि माग राखे पनि अर्थमन्त्रालयले सुनेको छैन । बरु अख्तियारको आदेशको हवाला दिंदै निर्णय फिर्ता नहुने, उल्टो कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिंदै आएको छ ।  

कर्मचारीहरु भने आफूहरु गर या मरको अवस्थामा रहेको भन्दै माग पूरा नभएसम्म आन्दोलन अन्त्य नहुने स्पष्ट अडानमा छन् । 

उनीहरुको  यही अडानका कारण सेबोनको दैनिक प्रशासनिक काम समेत ठप्प हुँदा तिहारको मुखैमा सबैको तलब निकासा हुन पाएन ।  

कर्मचारी कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका कारण सम्बन्धित विभागले तिहारको मुखमा तलब पठाउने प्रक्रिया नै अगाडि बढाउन पाएन । स्रोतले भनेको छः ठूला कर्मचारीलाई त फरक नपर्ला, तर साना कर्मचारीलाई भने समयमा तलब निकासा नहुँदा निकै ठूलो समस्या परेको देखिएको छ ।  

धितोपत्र बोर्डमा ९६ कर्मचारी कार्यरत छन् । तिहारको मुखैमा महिना पूरा भएको र उनीहरुले असोजको तलब नपाएका समेत स्रोतले जनाएको छ ।  

'न्यायको लडाईका कारण हामीले तलब पाएनौं । तिहार खल्लो हुने भयो ।' आन्दोलनरत एक कर्मचारीले भने-'भोलिको दिनमा सरकारले खाएको तलब पनि फिर्ता गर भन्यो भने के गर्ने भन्ने नयाँ तनावमा हामी छौं ।'

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.