काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष(आ.ब. २०८२/८३)को पहिलो त्रैमासमा नाफा बढाएको छ ।
बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा बढाउने सफलता पाएको हो ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले १७ करोड ४९ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर चालु आबको सोही अवधिमा १९ करोड ७५ लाखको उचाईमा पुगेको हो ।
नाफा बढेसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु. १९.९४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर यो वर्ष २०.४६ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५२ लाख रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ३.९६ प्रतिशतबाट ४.४१ प्रतिशतमा पुग्दा वितरणयोग्य मुनाफा गत वर्षको तुलनामा केही घटेको देखिएको छ । यहीकारण सम्भावित कर्जा नोक्सानीका लागि प्रभिजन(इम्पेयरमेन्ट चार्ज) गत वर्ष ४ करोड ८७ लाख रुपैयाँ रहँदा यो वर्ष बढेर ११ करोड माथि पुगेको छ ।
बैंकले गत वर्षको पहिलो त्रैमासमा २५ करोड ६७ लाख रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढाएर यो वर्ष २८ करोड ४६ लाखको उचाई चुमाएको छ भने गत वर्ष ५१ करोड ८७ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी पनि बढेर ६१ करोड ७६ लाख पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा घटे पनि वार्षिकीकृत रिटर्न अन इक्वीटी ११.८७ प्रतिशतबाट बढेर १३.३७ प्रतिशत पुगेको छ । यस्तै, वार्षिकीकृत रिटर्न अन एसेट(सम्पत्तिमा प्रतिफल) ०.९४ प्रतिशतबाट वृद्धि भई यो वर्ष १.१० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले ६३ अर्ब ४ करोड बढी निक्षेप संकलन गरी ५१ अर्ब ४४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६२ अर्ब ८३ करोड निक्षेप संकलन गरी ५० अर्ब ७ करोड बढी कर्जा परिचालन गरेको थियो । यस्तै, अघिल्लो वर्ष १ अर्ब ८३ करोडमा सीमित रिजर्बको आकार बढेर १ अर्ब ८८ माथि पुगेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५२.३१ रुपैयाँ, तरलता अनुपात २३.८० प्रतिशत, प्रतिसेयर कुल सम्पत्ति १ हजार ८५४.८९ रुपैयाँ, पीई रेसियो २०.१८ गुणा र क्यापिटल एडेक्वेसी रेसियो १२.२६ प्रतिशत कायम भएको छ ।


