काठमाण्डौ । आज डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौतासम्बन्धी विवादको सुनुवाई हुँदैछ । अर्घाखाची सिमेन्टले हालेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई भईरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले सरकारको निर्देशनबमोजिम बक्यौता रकम नतिर्ने उद्योगहरुको लाइन काटेपछि उक्त कदमविरुद्ध अर्घाखाची सिमेन्टले सर्वोच्चमा रिट दायर गरेको थियो ।
जसमा सर्वोच्चका न्यायधिस टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाई भईरहेको छ ।
डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको बक्यौता उठाउने विषयमा सरकार, प्राधिकरण र उद्योगबिच पटकपटक विवाद हुँदै आइरहेको छ। उद्योगीहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल अन्तर्गत पर्ने करिब साढे ५ अर्ब रकम बक्यौता तिर्न बाँकी छ।
प्राधिकरणले पछिल्लोपटक गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता रकम तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर उद्योगीहरुले महशुल नतिर्ने अडान लिएका थिए । जसपश्चात गत कात्तिक १७ गते प्रधानमन्त्री शुसिला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालसहितको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धि विवादको मध्यमार्गी प्रस्ताव गरिएको थियो । त्यसपछि केही उद्योगहरुले पहिलो किस्ताअन्तर्गतको बक्यौता रकम बुझाएका थिए ।

