काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार नहुने घोषणा गरेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा ढकालको यो निर्णयलाई रास्वपाको रणनीतिक पुनर्संरचनाका रूपमा हेरिएको छ।
यसअघि डडेल्धुराबाट चुनाव लडेका ढकालले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै उल्लेखनीय मत ल्याएका थिए। तर यसपटक आफू उम्मेदवार नबन्नुको कारण राजनीतिक पुस्तान्तरण र रूपान्तरणको एजेन्डा सफल भएको दाबी उनले गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाप्रति सम्मान व्यक्त गर्दै ढकालले डडेल्धुराबाट चुनाव नलड्ने निर्णय गरेको बताएका छन्। उनले देउवा अब सक्रिय चुनावी राजनीतिभन्दा विश्रामको चरणमा पुगिसकेको टिप्पणी गर्दै युवापुस्ताले जिम्मेवारी लिनुपर्ने समय आएको उल्लेख गरे।

