काठमाण्डौ । प्रतिनिधिसभा सदस्यका लागि दर्ता भएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता प्रक्रिया सकिएसँगै आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न वितरण गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको कार्यक्रमअनुसार माघ ७ गते दाबी–विरोधमा उजुरी दिने समय निर्धारण गरिएको थियो। सो अवधिमा परेका उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको प्रारम्भिक नामावली यसअघि नै प्रकाशन भइसकेको छ। आयोगले सबै प्रक्रिया समयमै सम्पन्न गर्दै चुनावी वातावरणलाई व्यवस्थित बनाउने तयारी तीव्र पारेको जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३,४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३,०८९ जना पुरुष, ३९६ जना महिला तथा अन्य एक जना उम्मेदवार रहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट २७५ सदस्यीय संसद् गठन हुनेछ। तीमध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।