काठमाण्डौ । यो वर्षको पहिलौ त्रैमास अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्ला कम्पनीका लगानीकर्ताका लागि बिर्सनलायक रह्यो । वर्षको पहिलो तीन महिनामा टेस्लाको सेयरमूल्यमा २९ प्रतिशतको गिरावट आएको छ ।
यो त्रैमासिक गिरावट सन् २०२२ पछिकै खराब हो । यस्तै यो गिरावट टेस्ला सार्वजनिक कम्पनीमा परिणत भएपछिको तेस्रो सर्बाधिक गिरावट हो । अमेरिकी स्टक मार्केट एस एण्ड पी ५०० मा सूचीकृत कम्पनीहरुमध्ये पहिलो त्रैमासमा सबैभन्दा धेरै गुमाउनेमा टेस्ला पहिलो स्थानमा रहेको छ ।
सबैभन्दा ठूलो चिन्ताको विषय कम्पनीको कोर बिजनेशप्रति देखिएको छ । पहिलो त्रैमासभर मूल्य कटौती र छुटको व्यवस्था गर्दा पनि कम्पनीको व्यवसायमा उल्लेख्य प्रगति हुन सकेको छैन ।
त्रैमासको अन्तिम दिनमा विश्लेषकहरुले कम्पनीले ४ लाख ५७ हजार युनिट कार डेलिभर गरेको अनुमान गरेका छन् । जुन गत वर्षको सोहि अवधिको तुलनामा जम्मा ८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा टेस्लाको ४ लाख २२ हजार ८७५ युनिट कार डेलिभर भएको थियो ।
बिवाईडीसहित अन्य चिनियाँ अटो निर्माताहरुले मूल्यमा गरिरहेको व्यापक कटौतीले टेस्लालाई चुनौती पेश गरिरहेका छन् । यस्तोमा मोबाइल फोन निर्माता कम्पनी सोओमीले समेत टेस्लाको इन्ट्री लेभल मोडल थ्री सेडानको मूल्यभन्दा कम मूल्यमा ईभी कार निर्माण गर्ने घोषणा गरेको छ । यसले टेस्लाको चुनौती थपिने अनुमान गरिएको छ ।
चिनियाँ कम्पनीहरुको मूल्ययुद्धका कारण टेस्ला पनि मूल्यमा घटाउन बाध्य बनेको छ । तर मूल्य कटौतीका बाबजुत पनि टेस्लाको व्यवसायमा सुधार आउन सकेको छैन । चीनको प्यासेन्जर कार असोसियसनका अनुसार टेस्लाले चीनमा जनवरी महिनामा ७१ हजार ४४७ युनिट कार बिक्री गरेको छ । जुन गत वर्षको डिसम्ेबर महिनाको तुलनामा कम हो । फेबु्रअरी महिनामा कम्पनीले चिनियाँ बजारमा ६० हजार ३६५ युनिट कार बिक्री गरेको छ ।
कारको बिक्रीमा आएको गिरावटका कारण टेस्लाले साङघाईको कारखानाको उत्पादन घटाएको छ । कम्पनीले कामदारहरुलाई साढे ६ दिन काम दिदै आएकोमा घटाएर ५ दिनमा झारेको छ ।
लाल सागरमा हुथी समूहले व्यवसाययिक जहाजमाथि आक्रमण गरेपछि गत जनवरी महिनामा भोल्भोसहित टेस्लाले निर्माण सामाग्रीको अभाव हुँदा युरोपमा केहि समयका लागि उत्पादन बन्द गरेका थिए ।
यस्तै मार्च महिनामा जर्मनीमा टेस्लाको कारखानाका कारण वातावरणमा प्रभाव परेको भन्दै जर्मनीमा कम्पनीविरुद्ध वातावरणविदले आन्दोलन गरेका थिए । यस क्रममा टेस्लाको कारखाना नजिकै आगजनी समेत भएको थियो । जसका कारण कम्पनीको उत्पादन एक साता ठप्प भएको थियो ।