काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ५३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२३ प्रतिशतले बढी हो।
नाफामा आएको तीव्र वृद्धिले कम्पनीको सञ्चालन दक्षता र आम्दानी संरचनामा सुधार भएको संकेत गरेको छ। यद्यपि बिक्री आम्दानी भने मध्यम दरले मात्र बढेको देखिन्छ। कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ८ करोड रुपैयाँको बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा २.५२ प्रतिशतले बढी हो।
कम्पनीको अन्य आम्दानीतर्फ पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आवमा ७ करोड १८ लाख रुपैयाँ रहेको अन्य आम्दानी चालु आवमा बढेर ११ करोड ९७ लाख रुपैयाँ पुगेको छ। यसले नाफा वृद्धिमा थप टेवा पुर्याएको देखिन्छ।
यता, कम्पनीको कुल खर्च पनि बढेको छ। समीक्षा अवधिमा ५२ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो वर्ष ४१ करोड ७६ लाख रुपैयाँ थियो। खर्च वृद्धि भए पनि आम्दानी र नाफाको वृद्धिदर उच्च रहनुले व्यवस्थापन पक्ष प्रभावकारी रहेको संकेत गर्छ।
५ अर्ब २२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ४७ करोड रुपैयाँ र कुल चालु दायित्व ५ अर्ब ७ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२०.६१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८८.९२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९९.४३ रुपैयाँ र तरलता अनुपात १.०८ प्रतिशत कायम भएको छ ।

