मंगलवार, असार १६,२०८३ 10:05:52
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:05:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको सुनामी : प्रारम्भिक मतपरिणाममा एमाले–कांग्रेसका मुख्य नेताहरूको अवस्था नाजुक

Laxmi Sunrise Bank Limited
रास्वपाको सुनामी : प्रारम्भिक मतपरिणाममा एमाले–कांग्रेसका मुख्य नेताहरूको अवस्था नाजुक

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणामले देशभर नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ। मतगणनाको सुरुआती रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘सुनामी’ जस्तै प्रभाव देखाइरहँदा नेपाली कांग्रेस र नेकपा एमालेका धेरै शीर्ष नेताहरू आफ्ना प्रतिस्पर्धीभन्दा पछि परेका छन्।

देशभरको प्रारम्भिक अवस्थाअनुसार रास्वपा ३ स्थानमा जितसहित १११ स्थानमाभन्दा बढी निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेस मात्र २ स्थानमा जितसहित १४  स्थानमा अगाडि रहेको देखिएको छ। एमाले शून्य जितसहित ११ स्थानमा मात्र अगाडि छ । धेरै क्षेत्रमा रास्वपाका उम्मेदवारले पुराना र स्थापित दलका प्रभावशाली नेताहरूलाई पछाडि पारिरहेका छन्।

New Office
CG Motors
Garima Development Bank

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा नै रास्वपाका अमरेशकुमार सिंहसँग पछि परेका छन्। पछिल्लो मतगणनाअनुसार सिंहले २ हजार ८४७ मत प्राप्त गर्दा थापाले १ हजार ७१४ मत मात्रै पाएका छन्।

त्यसैगरी मोरङ–६ मा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पनि भारी मतान्तरले पछि परेका छन्। कोइरालाले ३ हजार १५५ मत ल्याउँदा रास्वपाकी रुबिना आचार्यले १३ हजार ४०१ मतसहित ठूलो अग्रता कायम गरेकी छन्।

काठमाडौं–५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल पनि कमजोर अवस्थामा छन्। रास्वपाका सस्मित पोखरेलले १३ हजार ७०८ मत ल्याउँदा पौडेलले ४ हजार २१९ मत मात्रै पाएका छन्। मोरङ–४ मा अर्का महामन्त्री गुरुराज घिमिरे पनि रास्वपाका सन्तोष राजवंशीसँग निकै पछाडि परेका छन्। राजवंशीले १४ हजार ७५८ मत ल्याउँदा घिमिरे ४ हजार २२८ मतसहित तेस्रो स्थानमा छन्।

यस्तै नवलपरासी पश्चिम–१ मा कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी पनि रास्वपाका विक्रम खनालसँग पछि परेका छन्। खनालले ३ हजार २८० मत प्राप्त गर्दा चौधरीले १ हजार ४२० मत मात्रै पाएका छन्।

यसैबीच एमालेका शीर्ष नेताहरूको अवस्था पनि उत्साहजनक देखिएको छैन। प्रारम्भिक गणनामा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव डा. राजन भट्टराई र महेश बस्नेतहरू प्रतिस्पर्धीभन्दा पछाडि परिरहेका छन्।

झापा–५ मा अध्यक्ष ओली आफ्नै ‘कोर एरिया’ मानिएको गौरादह क्षेत्रबाटै रास्वपाका बालेन्द्र शाहसँग अप्रत्याशित मतान्तरले पछि परेको स्रोतहरूले बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग ठूलो मतान्तरले पछि छन्। काठमाडौं–५ मा पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रास्वपाका सस्मित पोखरेल तथा कांग्रेसका प्रदीप पौडेलभन्दा पनि पछाडि परेका छन्।

काठमाडौं–४ मा एमाले सचिव डा. राजन भट्टराई रास्वपाका पुकार बम तथा कांग्रेसका सचिन तिमल्सेनाभन्दा पछाडि छन् भने भक्तपुर–२ मा सचिव महेश बस्नेतलाई रास्वपाका राजीव खत्रीले उल्लेख्य मतान्तरले पछाडि पारेका छन्।

गुल्मी–१ मा एमालेका प्रदीप ज्ञवालीलाई पनि रास्वपाका सागर ढकालले कडा चुनौती दिइरहेका छन्। सुरुआती मतगणनादेखि नै ज्ञवाली दोस्रो स्थानमा छन् र मतान्तर क्रमशः बढिरहेको छ।

यद्यपि एमाले सचिव भानुभक्त ढकाल भने तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बासँग ६ सयभन्दा बढी मतान्तरले अग्रता कायम गरिरहेका छन्।

यसपटकको चुनावमा कांग्रेसका मिनेन्द्र रिजाल, सुनिल शर्मा, विमलेन्द्र निधि, विजय गच्छदार र चन्द्र भण्डारीजस्ता चर्चित नेताहरू पनि पछि परिरहेको प्रारम्भिक मतपरिणामले देखाएको छ।

विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर गगन थापाको नेतृत्वमा चुनावमा गएको कांग्रेसले ‘अबकी बार सय पार’ को नारा अघि सारे पनि प्रारम्भिक परिणाम अपेक्षाभन्दा फरक देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.